संसदीय सुनुवाइ समिति निकम्मा होइन, गलत व्यक्तिलाई अस्वीकार गर्न सक्छ: सांसद ढुङ्गाना
हतारमा अनुमोदन नगरौँ, कार्यविधिको पूर्ण पालना होस्
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
317
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले संसदीय सुनुवाइ समितिले सिफारिस भई आएका व्यक्तिहरूको सम्बन्धमा विस्तृत अध्ययन र गम्भीर परीक्षण गरेर मात्रै अन्तिम निर्णय गर्नुपर्ने बताएका छन्।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ प्रक्रियासम्बन्धी कार्यतालिका तय गर्न बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। उनले संवैधानिक परिषद्ले सिफारिस गरेर पठाएका सबै व्यक्तिलाई आँखा चिम्लेर अनुमोदन गर्न आवश्यक नरहेको स्पष्ट पारे।
ढुङ्गानाले समितिको ऐतिहासिक भूमिका र शक्तिको स्मरण गराउँदै विगतमा समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका व्यक्तिलाई समेत अयोग्य ठहर गर्दै अस्वीकार गरेको उदाहरण प्रस्तुत गरे। "यो सुनुवाइ समिति निकम्मा भएको छैन," उनले भने, "यसले गलत मान्छेलाई अस्वीकार गरेको इतिहास छ, प्रधानन्यायाधीश जस्तो पदमा सिफारिस भएको मान्छेलाई त हामीले स्वीकृत गरेनौँ भने अहिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त बनाउँदै गर्दा पनि असल र योग्य मान्छेलाई मात्रै अनुमोदन गर्नुपर्छ।"
संवैधानिक परिषद्ले आफ्नो हिसाबले योग्य ठानेरै नामहरू पठाएको भए पनि संसद् र संसदीय समितिको आफ्नै संवैधानिक दायित्व हुने उनको भनाइ थियो। सिफारिस भएका व्यक्तिहरूको पृष्ठभूमि र कार्यक्षमताको विस्तृत अध्ययन गर्न अझै बाँकी रहेको भन्दै उनले सुनुवाइ समितिमार्फत जनतालाई योग्य व्यक्ति मात्रै सही ठाउँमा पुग्दै छन् भन्ने कुराको विश्वास दिलाउनुपर्नेमा जोड दिए।
सांसद ढुङ्गानाले सुनुवाइ प्रक्रियालाई हतार हतारमा सिध्याउने खेल गर्न नहुने बरु समितिको स्वीकृत कार्यविधिअनुसार नै अघि बढाउनुपर्ने बताए। १० दिने उजुरी सङ्कलन, प्राप्त उजुरीमाथिको विस्तृत छलफल, उम्मेदवारहरूले पेस गर्ने कार्ययोजनाको मूल्याङ्कन र उनीहरूसँगको प्रत्यक्ष अन्तर्वार्तापछि मात्रै निष्कर्षमा पुग्नुपर्ने उनले उल्लेख गरे। कार्यविधि र कानुनी प्रक्रियाको अक्षरशः पालना गरे मात्र संसदीय समितिप्रति जनताको विश्वास र भरोसा बढ्ने उनको जिकिर थियो।