arrow

प्रतिनिधि सभा

सदनमा रास्वपा सांसदले भनिन्- सिटामोलभन्दा पहिले मल चाहियो भन्दै रुन्छन् किसान

किसानलाई मलसमेत दिन नसक्दा संसद्‌मा लाचारी महसुस भयो, सरकारले माफी मागोस् 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
karishma-kathariya.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारले समयमै किसानलाई आवश्यक मल र बीउ उपलब्ध गराउन नसकेको भन्दै आक्रोश र लाचारी व्यक्त गरेकी छन्।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कठरियाले कृषिप्रधान देशका किसानहरूले बाली लगाउने मुख्य सिजनमै मल नपाएर छटपटाउनुपरेको भन्दै सरकारको कडा आलोचना गरिन्।

संसद्‌मा किसानका पीडादायी अवस्थाको चित्रण गर्दै सांसद कठरियाले भनिन्, "हन्हनी ज्वरो आउँदा समेत सिटामोलभन्दा पहिले मल चाहियो भन्दै रुने किसानहरूको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय? हाम्रा अन्नदाताहरू भनिरहेका छन्— बरु ज्वरो सहौँला, रोग सहौँला तर भोक र खेतको खडेरी सहँदैनौँ। जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेऊ सरकार।"

सरकारले गोदाममा मल मौज्दात रहेको दाबी गरे पनि किसानको खेतसम्म नपुग्नु रहस्यमयी भएको उनको भनाइ थियो। "सरकार भन्छ गोदाममा मल छ, तर किसान सोच्छन् त्यो मल खेतमा किन छैन? यो त किसानको आँसुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय?," उनले प्रश्न गरिन्।

मल नपाएर छटपटिएका किसानहरूले आफूहरूलाई दिनहुँ फोन गरेर आक्रोश पोख्ने गरेको भन्दै उनले संसद्‌मा जनप्रतिनिधिको हैसियतले लज्जाबोध भएको बताइन्। "मल समेत दिन नसक्ने तिमीहरूलाई जिताएर के भयो भन्दै किसानहरूले दैनिक सयौँ फोन गर्दा पीडा भइरहेको छ। किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महसुस भएको छ," उनले भनिन्।

सांसद कठरियाले सरकारले तत्काल आफ्ना कमजोरी स्वीकार गर्दै अन्नदाता किसानहरूसँग क्षमा याचना (माफी) माग्नुपर्ने माग गरिन्। उनले मल अभावको सत्यतथ्य बाहिर ल्याउन र किसानका लागि तत्काल उचित विकल्प र राहतको प्याकेज घोषणा गर्न सरकारलाई दबाब दिइन्। आगामी दिनमा कृषिप्रधान देशका नागरिकका लागि बिरामी पर्दा खाने सिटामोलभन्दा खेती गर्ने रासायनिक मल बढी दुर्लभ र महत्त्वपूर्ण बन्ने परिस्थिति निर्माण नगर्न उनले सरकारलाई सचेत गराइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ