फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा, रोमाञ्चक बन्दै गोल्डेन बुटको दावेदारी
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
285
Shares
काठमाडौँ । दुई पटकको विश्वकप फुटबल विजेता फ्रान्स लगातार तेस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । जारी विश्वकपको पहिलो क्वार्टरफाइनलमा मोरक्कोलाई २-० ले सहजै पराजित गर्दै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
फ्रान्सले सन् २०१८ को विश्वकपको उपाधि जितेको थियो भने २०२२ को उपविजेता हो ।
क्वार्टरफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। २८ औँ मिनेटमा फ्रान्सका कप्तान केलियन एम्बाप्पेले पाएको पेनाल्टी मोरक्कोका गोलरक्षक यासिन बोनोले बचाएपछि खेल बराबरीमै रहेको थियो। तर दोस्रो हाफमा फ्रान्सले आफ्नो स्तर उकास्दै केही मिनेटको अन्तरमै दुई गोल गर्यो।
एम्बाप्पेले ६० औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने त्यसको केहीबेरपछि ६६ औँ मिनेटमा उस्मान डेम्बेलेले गोल थप्दै जित सुनिश्चित गरे। खेलभर फ्रान्सले बलमा नियन्त्रण राख्दै मोरक्कोलाई प्रभावकारी रूपमा दबाबमा राख्यो।
मोरक्को भने आक्रमणमा प्रभावशाली देखिन सकेन। विशेषगरी प्रमुख आक्रमणकारीको अनुपस्थितिले टोलीको अग्रपंक्ति कमजोर देखियो र फ्रान्सको रक्षापंक्तिलाई खासै चुनौती दिन सकेन।
यस जितसँगै फ्रान्स लगातार तेस्रो विश्वकपमा अन्तिम चारमा पुगेको छ। अब उपाधि यात्रालाई निरन्तरता दिन फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
अन्तिम अफ्रिकी चुनौती पनि समाप्त
फिफा विश्वकप २०२६ मा अफ्रिकी फुटबलको अन्तिम आशा पनि समाप्त भएको छ। क्वार्टरफाइनलमा फ्रान्ससँग २-० ले पराजित भएपछि मोरक्को प्रतियोगिताबाट बाहिरिएको हो।
यस विश्वकपको क्वार्टरफाइनलमा पुगेका आठ टोलीमध्ये छ टोली युरोपका थिए। अफ्रिकाबाट अन्तिमसम्म यात्रा गर्ने एकमात्र टोली मोरक्को थियो। तर फ्रान्ससँग पराजित हुँदै उसको प्रभावशाली अभियान टुंगिएको छ।
यस पटकको विश्वकपमा रेकर्ड नौ अफ्रिकी टोली नकआउट चरणमा पुगेका थिए, जसले अफ्रिकी फुटबलको बढ्दो स्तरलाई पुष्टि गरेको छ। तर तीमध्ये मोरक्को मात्र क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो।
सन् २०२२ को कतार विश्वकपमा इतिहास रच्दै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको मोरक्कोले यसपटक पनि उत्कृष्ट प्रदर्शन गरे पनि अघिल्लो संस्करणको उपलब्धिलाई दोहोर्याउन सकेन। टोली यस पटक क्वार्टरफाइनलबाटै बिदा हुन बाध्य भयो।
यद्यपि मोरक्कोको प्रदर्शनले अफ्रिकी फुटबलको प्रतिस्पर्धात्मक क्षमता अझ सशक्त बन्दै गएको सन्देश दिएको छ, जसले आगामी विश्वकपका लागि महादेशका टोलीप्रति थप आशा जगाएको छ।
गोल्डेन बुट दौडमा मेस्सीसँग बराबरीमा पुगे एम्बाप्पे
फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध गोल गरेपछि एम्बाप्पे गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरीमा पुगेका छन्।
बोस्टनमा शुक्रबार बिहान सम्पन्न खेलको ६०औँ मिनेटमा एमबाप्पेले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै मोरक्कोका गोलरक्षक यासिन बोनोलाई पराजित गरेका थिए। उक्त गोलसँगै फ्रान्सले १-० को अग्रता लिएको थियो।
यो एम्बाप्पेको यस विश्वकपमा आठौँ गोल हो। यससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सीसँग समान ८-८ गोलमा पुगेका छन्। उनी विश्वकपमा दुई संस्करणमा गाेल गर्ने पहिलो खेलाडी बनेका छन् ।
अब गोल्डेन बुटको प्रतिस्पर्धा अझ रोमाञ्चक बनेको छ। मेस्सी र एमबाप्पे दुवैका टोली सेमिफाइनलमा पुगेका कारण दुवैसँग आफ्नो गोल संख्या बढाउने अवसर बाँकी छ।
बराबरी कायम रहेमा गोल्डेन बुटको निर्णय फिफाको टाइब्रेकर नियमअनुसार असिस्ट र त्यसपछि कम खेल समयका आधारमा हुनेछ।
अर्जेन्टिनाले आइतबार बिहान स्वीट्जरल्याण्डसँग खेल्दैछ । त्यस्तै सात गोल गरिसकेका नर्वेका एर्लिङ हलान्ड पनि गोल्डेन बुटको होडमा छन् ।
नर्वेले आइतबार बिहानै इङ्गल्याण्डसँग खेल्दैछ । इङ्गल्याण्डकै ह्यारि केनले छ गोल गरेका छन् । यसपालि धेरै जनाबीच उच्च गोलकर्ताको प्रतिस्पर्धा भएको हो ।