कर्णालीमा थप दुई जनाको शव फेला, चालक दाजुभाइ अझै बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
133
Shares
तस्बिर फाइल
काठमाडौँ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा भएको फोर्स गाडी दुर्घटनामा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ। यो सँगै दुर्घटनामा मृत्यु भई पहिचान खुल्ने मृतकको सङ्ख्या तीन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तहरूले घटनास्थलमा पुगेर शवको पहिचान गरी बुझिसकेका छन्। पहिचान खुल्नेहरूमा यसअघि भिरमा शव फेला परेका कालिकोट पचालझरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालिकोटकै रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का रहेका छन्। उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा सनाखत भइसकेको प्रहरी प्रमुख विकले जानकारी दिए।
यता सवारी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र उनकै सहोदर भाइ अर्थात् सहचालक रामु सुवेदीसहित अन्य केही यात्रुको अवस्था भने अझै अज्ञात छ। बेपत्ता दुवै दाजुभाइका काका दिल्ली सुवेदीका अनुसार घरका मुख्य सहारा नै नदीमा डुबेकाले सिङ्गो परिवार, आफन्त र छरछिमेक यति बेला गहिरो शोकमा डुबेका छन्।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा गत बिहीबार खसेको थियो। नदीको तीव्र बहावका बीच सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ता यात्रुहरूको खोजी कार्य अझै जारी राखेको छ।