राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको आत्मदाहको प्रयासमा ट्राफिक प्रहरीको स्पष्टीकरण
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
238
Shares
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भइरहेको प्रचारलाई पूर्ण रूपमा तथ्यहीन र भ्रामक भएको जनाएको छ।
रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै असार २५ गते राहदानी विभाग अगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनामा ट्राफिक कारबाहीको कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेको हो। विज्ञप्तिमा घटनाका क्रममा वा त्यसअघि ट्राफिक प्रहरीले नेपालीलाई कुनै पनि प्रकारको जरिवाना नगरेको र ट्राफिक कारबाहीकै कारण उनले आत्मदाहको प्रयास गरेको भन्ने विवरण पूर्ण रूपमा गलत रहेको उल्लेख छ।
‘घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा निजलाई कुनै पनि प्रकारको जरिवाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै सम्बन्ध नरहेको तथ्य स्पष्ट पार्न चाहन्छौँ,’ ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रहरीले घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीमार्फत विस्तृत कानुनी अनुसन्धान भइरहेको जनाएको छ। आधिकारिक रूपमा पुष्टि नभएका संवेदनशील विषयहरूलाई सुरक्षा निकायसँग जोडेर प्रचार गर्दा सर्वसाधारणमा अनावश्यक भ्रम र अफवाह सिर्जना हुने भन्दै प्रहरीले त्यस्ता सामग्रीप्रति सजग रहन सबैमा आग्रह गरेको छ।
अनुसन्धानबाट वस्तुगत र आधिकारिक निष्कर्ष नआएसम्म कपोलकल्पित, मनगढन्ते तथा भ्रम फैलाउने खालका समाचार र सामग्रीहरू सम्प्रेषण नगर्न ट्राफिक प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ।