काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ। वीर अस्पतालको बर्न सेन्टरमा उपचाररत नेपालीको आज निधन भएको हो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराई र गणेशका दाइ मदन नेपालीले निधन भएको बताएका छन्। अस्पतालले भने निधनको औपचारिक घोषणा गर्न बाँकी छ ।
भक्तपुरमा डेरा गरी श्रीमती र एक छोरीका साथ बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे। प्रत्यक्षदर्शीका अनुसार बिहीबार उनले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाएर लैजाने प्रयास गरेपछि विवाद भएको थियो। महानगर प्रहरीको ज्यादती र विवाद सहन नसकी उनले राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।
घटनामा उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। अस्पतालले आज बिहान १० बजे पत्रकार सम्मेलन गर्दै उनको अवस्था अत्यन्तै चिन्ताजनक रहेको र थप उपचारका लागि नयाँ दिल्ली रिफर गर्ने तयारी गरिए पनि स्वास्थ्य अवस्था थप बिग्रने खतराका कारण रोक्नुपरेको जानकारी दिएको थियो। त्यसको केही बेरमै उनले वीर अस्पतालमै प्राण त्यागे।
घटनापछि वीर अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। प्रधानमन्त्रीको सचिवालयका सल्लाहकारसहितको टोली अस्पताल पुगेर मृतकका परिवारसँग समन्वय गरिरहेका छन् भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का नवनियुक्त पदाधिकारी तथा अस्पतालका निर्देशकसँग पनि यसबारे छलफल भइरहेको छ।