arrow

प्रतिनिधि सभा

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले सांसद सुब्बा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
bhukika-limbu-subba.jpg

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्युको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेकी छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुब्बाले मोटरसाइकल पार्किङ गरेबापत कडा जरिवाना असुल गरी मानसिक तनाव दिएका कारण नै ती युवा आत्मदाह गर्ने निष्कर्षमा पुगेको दाबी गरिन्।

सांसद सुब्बाले यो घटना केवल एउटा व्यक्तिको मृत्यु मात्र नभई राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथि लागेको गम्भीर प्रश्न चिह्न भएको आरोप लगाइन्। सरकार नागरिकप्रति संवेदनशील र जवाफदेही नहुँदा सर्वसाधारणले आत्महत्याको बाटो रोज्नुपर्ने विदारक स्थिति आएको उनको भनाइ थियो। "मोटरसाइकल पार्किङ गरेका कारण १० हजार रुपैयाँ जरिवाना गरी अत्यन्तै तनाव दिएकाले उनी आत्महत्याको निष्कर्षमा पुगेको आफन्तको भनाइ छ। त्यसैले यो मृत्युको जिम्मेवारी सरकारले लिनैपर्छ," उनले भनिन्।

उनले यस मृत्यु प्रकरणको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिन्। सोही अवसरमा सांसद सुब्बाले प्रधानमन्त्री बालेन्द्र साह संसद् र जनताप्रति उत्तरदायी नभएको भन्दै आक्रोश समेत व्यक्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ