सरकारको घमण्ड र अराजकताले गरिब नागरिक मर्नुपर्ने अवस्था आयो : सांसद विक
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
311
Shares
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले त्रिपुरेश्वर आत्मदाह प्रकरणमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनाका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग जोडदार माग गरेकी छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले मृतकका परिवारलाई अविलम्ब उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारलाई सचेत गराइन्।
सांसद विकले सरकारको घमण्ड र अराजक कार्यशैलीका कारण देशमा गरिब नागरिकहरूले जिउँदै जलेर मर्नुपर्ने बाध्यात्मक र जटिल अवस्था सिर्जना भएको आरोप लगाइन्। मुलुकमा नेपाली जनता नै सबैभन्दा सार्वभौम अधिकारसम्पन्न भएको स्मरण गराउँदै उनले राज्यले नागरिकलाई यसरी नै प्रताडित गरिरहे जनताले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिइन्।
संसद्मा बोल्दै उनले भनिन्, "यदि यो घमण्ड र अराजकता बढ्दै गयो भने जनताले संविधानबमोजिम नै विद्रोह गर्न सक्छन्, यो अधिकार जनतामा निहित छ। गणेश नेपालीको घटनापश्चात् भएको मृत्युको खबरले निकै दुःखी बनाएको छ। घटनाका दोषीहरूलाई कारबाही होस् र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति दिइयोस्।"
त्यस अवसरमा सांसद विकले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैली र अभिव्यक्तिका कारण सीमा क्षेत्रका आम नागरिकले समेत दैनिक रूपमा विभिन्न पीडा भोग्नुपर्ने अवस्था आएको जिकिर गरिन्।