जलनमा सही प्राथमिक उपचारले बचाउन सक्छ ज्यान, यस्ता छन् विज्ञका सुझाव
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
329
Shares
काठमाडौँ। जलन भएपछि तत्काल र सही प्राथमिक उपचार गर्न सके बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन सकिने इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धिताल ले बताएका छन्।
उनका अनुसार जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउनुपर्छ। यदि शरीरमा आगो लागेको व्यक्ति एक्लै छ भने भुइँमा ढलेर लडिबुडी गर्ने ‘स्टप, ड्रप एन्ड रोल’ विधिबाट आगो निभाउन सकिन्छ। यो विश्वभर प्रभावकारी प्राथमिक उपायका रूपमा प्रयोग हुँदै आएको छ।
आगो निभाउन बाक्लो कपडा, जुटको सामग्री वा सजिलै आगो नलाग्ने ब्ल्याङ्केटलाई पानीमा भिजाएर प्रयोग गर्न सकिने भए पनि त्यस क्रममा सावधानी अपनाउनुपर्ने डा. धितालको भनाइ छ।
आगो निभाइसकेपछि बिरामी सामान्य अवस्थामा भए जलेको भागमा करिब ३० मिनेटसम्म सामान्य तापक्रमको बगिरहेको पानी हाल्नुपर्छ। फ्रिजको अत्यधिक चिसो वा तातो पानी प्रयोग गर्न नहुने उनले बताए। जलेको भागलाई पानीमा डुबाउने होइन, माथिबाट पानी बगाउने विधि अपनाउनुपर्ने उनको सुझाव छ।
जलनपछि शरीरमा टाँसिएका कपडा जबरजस्ती निकाल्न नहुने डा. धितालले बताए। त्यसो गर्दा छाला थप च्यातिने र घाउ अझ गहिरो हुने जोखिम रहन्छ।
उनका अनुसार बिरामी सचेत छ र खान सक्ने अवस्थामा छ भने बिस्तारै पानी खुवाउनुपर्छ। जलनका कारण शरीरबाट तरल पदार्थको मात्रा घट्ने भएकाले पानीको कमी हुन सक्छ।
प्राथमिक उपचारपछि जलेको भागलाई सफा कपडाले छोपेर सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा अस्पताल पुर्याउनुपर्ने उनको सुझाव छ। बिरामी खान सक्ने अवस्थामा भए बाटोमै पनि पानी खुवाउन सकिन्छ। तर बिरामी बेहोस छ वा खान नसक्ने अवस्थामा छ भने कुनै ढिलाइ नगरी तत्काल अस्पताल लैजानुपर्छ।
डा. धितालले यी उपाय सामान्य प्राथमिक उपचार मात्र भएको उल्लेख गर्दै गम्भीर जलनमा चिकित्सकीय उपचार अपरिहार्य हुने बताए।
उनले नेपालमा जलनसम्बन्धी जनचेतना अझै पर्याप्त नभएको र प्राथमिक उपचारबारे जानकारीको कमी देखिने गरेको बताए। बिहीबार भएको गणेश नेपालीको घटनामा पनि जलनपछि अपनाउनुपर्ने आधारभूत प्राथमिक उपचारका उपायहरू समयमै प्रयोग हुन नसकेको देखिएको उनको भनाइ छ।