हर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले शुरू गर्यो तेस्रो चरणको हवाई आक्रमण
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
572
Shares
काठमाडौँ । मध्यपूर्वी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ। इरानी सेना 'रिभोलुसनरी गार्ड्स' ले विश्व व्यापारकै प्रमुख रणनीतिक मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। इरानी सेनाले आफ्नो पूर्व अनुमतिबिना कुनै पनि व्यावसायिक वा सैन्य जहाजलाई यो मार्ग पार नगर्न कडा चेतावनी दिएको छ।
इरान र अमेरिकाबीचको युद्धविराम समाप्त भएलगत्तै अमेरिकाले इरानमाथि तेस्रो चरणको भीषण हवाई आक्रमण (एयरस्ट्राइक) शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार, इरानी सेनाले हर्मुज जलमार्गमा साइप्रसको झण्डा फहराइरहेको एउटा मालवाहक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले यो जवाफी सैन्य कदम चालेको हो।
यसैबिच, इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेईले आफ्ना पिता आयातुल्लाह अली खामेनेईको अन्त्येष्टि सम्पन्न भएपछि पहिलो पटक सार्वजनिक सन्देश जारी गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'अल जजिरा' का अनुसार उनले भनेका छन्, "म आफ्ना पिताको निर्दोष रगतको बदला अवश्य लिनेछु, र यो मेरो मात्र नभई हाम्रो सिङ्गो देशको चाहना हो।"
इरानको यो आक्रामक रणनीति र बयानबाजीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा लेख्दै ट्रम्पले यदि इरानले आफ्नो हत्या गर्ने कुनै पनि प्रयास गरेमा इरानलाई संसारको नक्साबाटै पूर्ण रूपमा ध्वस्त पारिदिने धम्की दिएका छन्। ट्रम्पका अनुसार इरानतर्फ लक्षित गरी हाल १,००० मिसाइलहरू तयारी अवस्थामा राखिएको छ र आवश्यकता परेमा थप हजारौँ मिसाइलहरू प्रहार गर्न अमेरिका पछि पर्ने छैन।