राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका बढाउन नीतिगत सुधारको सुझाव
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
219
Shares
काठमाडौँ । ‘राष्ट्र निर्माणमा स्टार्टअपहरूको भूमिका: नयाँ सरकार र चाल्नुपर्ने कदमहरू’ विषयक राष्ट्रिय संवाद कार्यक्रम शनिबार काठमाडौँमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपालमा आर्थिक रूपान्तरणका लागि स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई विकासको प्रमुख आधार बनाउनुपर्नेमा जोड दिइएको छ।
इन्टरप्रेन्योर्स क्लब ग्लोबल नेपाल च्याप्टर तथा स्टार्टअप हब नेपाल-वल्र्ड ट्रेड ग्रुपको संयुक्त आयोजनामा भएको कार्यक्रममा उद्यमी, स्टार्टअप संस्थापक, लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, शिक्षाविद्, उद्योगी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा वक्ताहरूले रोजगारी सिर्जना, लगानी आकर्षण, निजी क्षेत्रको प्रवर्द्धन र युवा उद्यमशीलता विकासका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए।
उनीहरूले स्टार्टअपमैत्री नीति, लगानी वातावरण सुधार, कर प्रणालीलाई सहज बनाउने, वित्तीय पहुँच विस्तार गर्ने तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको सुझाव दिएका छन्।
आयोजकका अनुसार कार्यक्रममा उठेका सुझावहरू संकलन गरी सरकारसमक्ष कार्यान्वयनयोग्य सिफारिसका रूपमा प्रस्तुत गरिनेछ।
इन्टरप्रेन्योर्स क्लबका अध्यक्ष तथा स्टार्टअप हब नेपालका संस्थापक डा. शम्भु पोखरेलले यस्ता संवादले नेपालमा उद्यमशीलता र नवप्रवर्तनको वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सहभागीहरूले सरकार, निजी क्षेत्र, वित्तीय संस्था, शैक्षिक क्षेत्र र विकास साझेदारबीचको सहकार्य सुदृढ गर्दै नेपाललाई क्षेत्रीय नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिएका छन्।