पोखराका आधाभन्दा बढी सवारी प्रदूषण जाँचमा फेल, २२ वटा कारबाहीमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
349
Shares
काठमाडौँ । पोखरा महानगरपालिका-८ न्युरोड क्षेत्रमा गुड्ने सवारी साधनहरूमा गरिएको आकस्मिक प्रदूषण परीक्षणका क्रममा अधिकांश सवारी साधन मापदण्ड विपरीत सञ्चालन भइरहेको भेटिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले आइतबार सडकमै प्रदूषण मापन गर्ने उपकरण (स्मोक एनालाइजर) राखेर सवारी साधनहरूको आकस्मिक जाँच गरेको हो। परीक्षण गरिएका कुल ४० वटा सवारी साधनमध्ये २२ वटाले सरकारले तोकेको मापदण्डभन्दा बढी र हानिकारक धुवाँ उत्सर्जन गरेको पाइएको छ।
जाँचका क्रममा विशेष गरी पोखरा नगर क्षेत्रभित्र सञ्चालन हुने सिटी बस (नगर बस) सहित डिजेल इन्जिनबाट चल्ने अन्य सार्वजनिक तथा निजी सवारी साधनहरूको प्रदूषण मापन गरिएको थियो। स्वीकृत मापदण्डभन्दा बढी धुवाँ फालेर वातावरण प्रदूषण गराउने आधाभन्दा बढी अर्थात् २२ वटा सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।
पोखराको वायुको गुणस्तर खस्कँदो अवस्थामा रहेका बेला गुड्ने सवारी साधनकै कारण वायु थप प्रदूषित बन्दै गएपछि यो अभियान चालिएको हो। गुडिरहेका गुड्दै गरेका सवारी साधनबाट निस्कने अत्यधिक धुवाँले सहरी क्षेत्रको जनस्वास्थ्यमा समेत गम्भीर असर पुर्याएको भन्दै ट्राफिक प्रहरीले सवारी साधनको नियमित मर्मतसम्भार गर्न र तोकिएको प्रदूषण मापदण्ड पूर्ण रूपमा पालना गर्न चालक तथा यातायात व्यवसायीहरूलाई कडा निर्देशन दिएको छ।