arrow

मनसुन थप सक्रिय

कोशी र बागमतीमा ‘अति भारी’ वर्षाको अलर्ट, सडक र हवाई यातायात प्रभावित हुन सक्ने

सतर्क रहन अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव तीव्र भएसँगै मुलुकका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक सरेकाले वर्षाको जोखिम बढेको हो।

अहिले देशभर अधिकांश बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान र मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा कर्णालीका केही स्थानमा मध्यम वर्षा हुने देखिन्छ। कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका थोरै स्थान तथा मधेससहित यी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति भने वर्षाको वेग अझ बढ्ने महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशको पहाडी तथा तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनुका साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा 'अति भारी' वर्षाको समेत सम्भावना रहेको छ।

मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको आकलन गरिएकाले महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण पहाडी भू-भागमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने तर्फ विभागले सचेत गराएको छ।

यसका साथै नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सावधान रहन भनिएको छ। यो मौसमी प्रणालीका कारण सर्वसाधारणको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक तयारी र पूर्वसावधानी अपनाउन विभागले अपिल गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ