महोत्तरीमा श्रीमान्-श्रीमतीलाई गोली हानी डकैती गर्ने तीन जना अभियुक्त पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
435
Shares
काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे।
पक्राउ परेकाहरू सहितको डाँका समूहले स्थानीय रामविश्वास यादवको घरमा सुतिरहेकी उनकी छोरी किरण यादवलाई खुट्टामा दुई गोली र ज्वाइँ ईश्वरनारायण यादवलाई दाहिने हातमा एक गोली हानी घाइते बनाएर लुटपाट गरेको थियो। गोली लागेर घाइते भएका यादव दम्पतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका अभियुक्तहरूलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। यस डकैती घटनामा संलग्न रहेका अन्य फरार अभियुक्तहरूको पनि पहिचान भइसकेको र उनीहरूको खोजी तथा पक्राउका लागि तीव्र रूपमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।