प्रतिनिधि सभा बैठक बस्दै, विभिन्न विधेयक र प्रतिवेदनहरू पेस हुने कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
275
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज मङ्गलवार बिहान ११:०० बजे सिंहदरबारमा बस्ने तय भएको छ। आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्ने, नयाँ विधेयकहरू प्रस्तुत गर्ने तथा अन्तर्राष्ट्रिय सन्धि–महासन्धिहरूमाथि छलफल र अनुमोदन गर्ने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘न्याय परिषद्को वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’, ‘न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ र ‘लोक सेवा आयोगको ६६ औँ वार्षिक प्रतिवेदन (२०८१ साउन – २०८२ असार)’ पेस गर्नेछिन्। यसका साथै मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०६३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।
यसै गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने अनुमति प्राप्त भएपछि उक्त विधेयक आजै सदनमा प्रस्तुत गरिनेछ।
आजको बैठकमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय सन्धि र महासन्धिहरूमाथि पनि छलफल तथा अनुमोदनको प्रक्रिया अगाडि बढाइनेछ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बैठकमा ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री यादवले उक्त प्रोटोकललाई अनुमोदन गरियोस् भन्ने प्रस्तावका साथै ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ।