प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
286
Shares
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति यो दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेर गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए। दुवै जनालाई तत्काल उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै राति करिब १२ः४५ बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको सूचना अधिकारी खड्काले जानकारी दिए।
यस्तै सोही दुर्घटनामा परी घाइते भएका धरान–२० का पवन राईको भने अहिले बिपी प्रतिष्ठानमै उपचार भइरहेको छ। दुर्घटना के कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।