सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो: नेता शाही
कानून सबैका लागि समान हुनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
200
Shares
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका प्रमुख सचेतक एवं नेता ज्ञानबहादुर शाहीले सम्पत्ति छानबिन गर्ने कार्यमा सरकारले राजनीति गरेको आरोप लगाएका छन्। मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन नगर्ने रणनीति बनाएर सरकारले विभेदकारी नीति अख्तियार गरेको दाबी गरे।
उनले गृह प्रशासन र सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक नगरिनु सरकारले गरिरहेको राजनीतिकरणको स्पष्ट दृष्टान्त भएको जिकिर गरे। अरूको सम्पत्ति छानबिनका लागि समिति माग गर्ने तर बिचौलियासँगको साँठगाँठ बाहिरिएपछि आफैँ अनुकूलको समिति बनाएर प्रतिवेदन लुकाउने खेल भइरहेको उनको आरोप थियो।
बैठकमा आक्रोश व्यक्त गर्दै नेता शाहीले भने, “हामी सेवा गरेर राजनीतिमा आएका हौँ, देशको भौतिक संरचनामा आगो लगाउँदै सिंहदरबार खरानी बनाउँदै आएका होइनौँ। भ्रष्टाचारको विरोध गर्दा हामीले भौतिक आक्रमण सह्यौँ तर कसैलाई हानी पुर्याएनौँ। त्यसैले कानून सबैका लागि समान हुनुपर्दछ।” उनले राज्य नागरिकको अभिभावक बन्नुपर्ने र नियमहरू नागरिकको जीवन रक्षाका लागि बन्नुपर्नेमा जोड दिँदै मानिसको जीवनभन्दा ठूलो सत्ता, पद वा कसैको लोकप्रियता हुन नसक्ने उल्लेख गरे।
यसका साथै, नेता शाहीले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको जिकिर गर्दै उक्त विषयमा आफ्नो दलको विरोध कायमै रहेको स्पष्ट पारे। उनले सरकारलाई नागरिकको वास्तविक अभिभावक बनेर जिम्मेवारीपूर्वक काम गर्न समेत सचेत गराए।