नागरिकको पीडा र मृत्युमा राजनीतिक लेप नलगाऔँ: समीक्षा बास्कोटा
तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
165
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले नागरिकको पीडा र मृत्युका दुःखद घटनाहरूलाई राजनीतिक आरोप–प्रत्यारोपको सस्तो विषय मात्र नबनाउन सबै दलहरूसमक्ष आग्रह गरेकी छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय देशका विभिन्न स्थानमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्रलाई सत्ता पक्ष र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित गर्न नहुने बताइन्।
संसद् आउँदै गर्दा एक पीडित आमाले आफूलाई दिएको चिरकटो (कागजको टुक्रा) को भावना सदनमा सुनाउँदै उनले भनिन्, “तन जलेको कुरा मात्र हुन्छन्, मन जलेका कुरा कहाँ भयो र खोई? तन पछि मात्र जलेको हो हजुर, पहिला जल्ने त मन नै हुन्छ।”
सांसद बास्कोटाले नागरिकको ज्यान र सुरक्षाको जिम्मेवारी केवल सरकारको मात्र नभई प्रतिपक्ष र संसद्मा रहेका सबै जनप्रतिनिधिहरूको साझा विषय भएको उल्लेख गरिन्। “लोकतन्त्र कुनै दुई ध्रुवबीचको प्रतिस्पर्धा मात्र होइन, यो सबैको सहभागिता, सहमति, असहमति र उत्तरदायित्वको साझा अभ्यास हो,” उनले भनिन्, “हामी सबै जनताका प्रतिनिधि हौँ। जनताप्रतिको उत्तरदायित्व हाम्रो साझा दायित्व हो।”
उनले सरकारको आलोचना प्रतिशोधका लागि नभई सुधारका लागि हुनुपर्ने स्पष्ट पारिन्। आफू सत्ता पक्षकै सांसद भए पनि आवश्यक पर्दा सरकारलाई कडा खबरदारी गर्ने र राम्रो काम गर्दा खुलेर प्रशंसा गर्ने आफ्नो नीति रहेको उनले बताइन्।
देशको वर्तमान अवस्थालाई लामो समयदेखि 'रिभर्स गियर' (पछि सार्ने गियर) मा अड्किएको गाडीसँग तुलना गर्दै उनले वर्षौँदेखि थिलथिलो र कमजोर बनेका सरकारी संरचनाहरूलाई एकाएक सुधार गर्न समय लाग्ने तर्क गरिन्। “१०९ दिनमा सरकारले सुशासनको जग हाल्ने प्रयास गरेको छ। वर्षौँदेखि बिग्रिएको देशको जग मजबुत बनाउन समय लाग्छ, यसका लागि धैर्यता चाहिन्छ,” उनले भनिन्।
उनले नागरिकको मृत्युका घटनामा राजनीतिक लेप लगाएर फाइदा उठाउन खोज्नुभन्दा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी नीतिगत बहसमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्। “बहस आरोप–प्रत्यारोपमा होइन, अब यस्ता घटना हुन नदिन के गर्ने भन्नेमा गरौँ,” बास्कोटाले भनिन्। राज्य र सिंगो समाजले नागरिकका मौन पीडा र अदृश्य संघर्षहरूलाई बुझ्न सक्ने संवेदनशीलता विकास गर्नुपर्ने उनको भनाइ थियो।