नेपाललाई थप बर्न वार्ड होइन, जलन रोक्ने राष्ट्रिय नीति चाहिन्छ
अनिल धिताल
प्रकाशित २०८३ असार ३० मंगलबार
115
Shares
पछिल्ला केही दिनयता नेपालमा जहाँ पुगे पनि जलन (बर्न) कै चर्चा सुनिन्छ। टेलिभिजनका समाचारदेखि सामाजिक सञ्जालसम्म, अस्पतालदेखि मन्त्रालयसम्म, विद्यालयदेखि समुदायसम्म एउटै प्रश्न उठिरहेको छ-अब के गर्ने? कसैले उपचारको कुरा गरिरहेका छन्, कसैले बिरामीलाई कहाँ लैजाने भन्ने चिन्ता व्यक्त गरिरहेका छन् भने कसैले जलनबाट कसरी बच्ने भन्ने उपाय खोजिरहेका छन्।
यो परिवर्तन सकारात्मक हो। तर एउटा प्रश्न उठ्छ-के जलनको समस्या अहिले मात्रै सुरु भएको हो? यसको उत्तर स्पष्ट छ-होइन। जलन नेपालका लागि नयाँ समस्या होइन। दशकौँदेखि यसले मौन रूपमा हजारौं मानिसको ज्यान लिइरहेको छ, कैयौंलाई जीवनभरका लागि अपाङ्ग बनाइरहेको छ र असंख्य परिवारको भविष्य बदलिरहेको छ। फरक यति मात्र हो कि अहिले यसको चर्चा बढी हुन थालेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार नेपालमा प्रत्येक वर्ष उपचार आवश्यक पर्ने करिब ६० हजार जलनका घटना हुने अनुमान छ भने करिब दुई हजार २०० जनाले ज्यान गुमाउने गरेका छन्। यी तथ्याङ्क अस्पतालसम्म पुगेका बिरामीका आधारमा तयार गरिएका अनुमान मात्र हुन्। दुर्गम बस्तीमा आर्थिक अभाव, यातायातको कठिनाइ र स्वास्थ्य सेवाको सीमित पहुँचका कारण धेरै पीडित अस्पतालसम्म पुग्नै सक्दैनन्। त्यसैले वास्तविक संख्या अझ बढी हुन सक्ने सम्भावना छ।
जलनले मृत्यु मात्र निम्त्याउँदैन, यसले मानिसको सम्पूर्ण जीवन परिवर्तन गरिदिन्छ। धेरैले शारीरिक अपाङ्गता, मानसिक तनाव, सामाजिक विभेद र आर्थिक संकटसँग जीवन बिताउन बाध्य हुन्छन्। नेपालमा हुने कुल अपाङ्गतामध्ये करिब पाँच प्रतिशत भार जलनसँग सम्बन्धित रहेको विभिन्न अध्ययनले देखाएका छन्। त्यसैले जलनलाई केवल एउटा दुर्घटना होइन, सार्वजनिक स्वास्थ्य, गरिबी र विकाससँग जोडिएको गम्भीर चुनौतीका रूपमा बुझ्न आवश्यक छ।
नेपालमा जलनबाट सबैभन्दा बढी प्रभावित हुने समूह महिला र बालबालिका हुन्। अझै पनि अधिकांश घरमा खाना पकाउने जिम्मेवारी महिलाकै काँधमा छ। परम्परागत चुलो, खुला आगो, ग्यासको असुरक्षित प्रयोग तथा जाडोमा आगो ताप्ने चलनका कारण घरभित्रै हुने दुर्घटनाले उनीहरूलाई बढी जोखिममा पारिरहेको छ। यस अर्थमा जलन स्वास्थ्यसँगै सामाजिक र लैङ्गिक समानताको विषय पनि हो।
विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न जिल्लामा समुदायसँग काम गर्ने क्रममा मैले एउटा यथार्थ बारम्बार अनुभव गरेको छु। विद्यालय, महिला समूह, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामुदायिक स्वास्थ्यकर्मी तथा अन्य समुदायका सदस्यलाई जलन रोकथाम, सही प्राथमिक उपचार, प्रारम्भिक मूल्याङ्कन, आधारभूत व्यवस्थापन र समयमै रिफरलसम्बन्धी तालिम दिँदै आएका छौं। त्यस्तै जिल्ला, प्रदेश र केन्द्रीय अस्पतालका चिकित्सक तथा नर्सलाई 'एसेन्सियल बर्न केयर' र 'एड्भान्स्ड बर्न केयर' सम्बन्धी तालिम सञ्चालन गर्दै आएका छौं।
यी तालिमका क्रममा धेरै स्वास्थ्यकर्मीले एउटै कुरा दोहोर्याउने गरेका छन्, "मैले ३० वर्ष स्वास्थ्य सेवामा काम गरें, तर जलनसम्बन्धी औपचारिक तालिम पहिलो पटक पाएँ।" यो केवल एउटा अनुभव होइन, हाम्रो स्वास्थ्य प्रणालीको वास्तविक चित्र हो। जब अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीले नै पर्याप्त तालिम पाएका हुँदैनन् भने समुदायसम्म सही ज्ञान कसरी पुग्ला?
पछिल्लो समय सरकारले थप बर्न वार्ड स्थापना गर्ने र उपचार सेवा विस्तार गर्ने विषयमा चासो देखाएको छ। यो स्वागतयोग्य कदम हो। तर अस्पताल थप्दैमा जलनको समस्या समाधान हुँदैन। उपचार आवश्यक छ, तर उपचारले दुर्घटना रोक्दैन। यदि जलन हुनै नदिने वातावरण निर्माण गर्न सकिएन भने नयाँ बर्न वार्डहरू पनि भरिँदै जानेछन्।
त्यसैले अब उपचारसँगै रोकथामलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने बेला आएको छ। विद्यालयको पाठ्यक्रममा जलन रोकथाम र प्राथमिक उपचार समावेश गर्न सकिन्छ। महिला समूह, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्थानीय सरकार, स्वास्थ्य संस्था तथा कार्यस्थलमार्फत नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ। सुरक्षित खाना पकाउने अभ्यास, बालबालिकाको सुरक्षा, आगो तथा ग्यासको सुरक्षित प्रयोग र सही प्राथमिक उपचारबारे सामान्य ज्ञानले हजारौं दुर्घटना हुनै नदिन सक्छ।
हामी प्रायः कुनै ठूलो दुर्घटनापछि केही दिन जलनबारे चर्चा गर्छौं र त्यसपछि बिर्सिन्छौं। तर जलनका घटना भने हरेक दिन, कसै न कसैको घरमा भइरहेका हुन्छन्। त्यसैले अहिले सुरु भएको बहस केही दिनको समाचारमा सीमित हुनु हुँदैन।
यसलाई राष्ट्रिय नीति, समुदायमा आधारित रोकथाम, स्वास्थ्यकर्मीको क्षमता विकास, पुनर्स्थापना सेवा र दिगो लगानीसँग जोड्न सक्यौं भने मात्र यसको वास्तविक अर्थ हुनेछ।
नेपाललाई थप बर्न वार्ड मात्र होइन, जलन हुनै नदिने नीति, योजना र प्रभावकारी कार्यक्रम पनि चाहिएको छ। किनकि उपचारले जीवन बचाउँछ, तर रोकथामले भविष्य बचाउँछ।