प्रधानमन्त्री साहले संसदीय नियमावलीको धज्जी उडाएको भन्दै आपत्ति
‘प्रधानमन्त्रीले नै नियम तोडेपछि नागरिकबाट के आशा गर्ने?’
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
235
Shares
तस्बिर फाइल
काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले प्रधानमन्त्री वालेन्द्र साहले प्रतिनिधि सभा नियमावलीको धज्जी उडाएको भन्दै गम्भीर आपत्ति जनाएकी छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशको प्रधानमन्त्री र सत्तापक्षीय प्रमुख नेताहरूबाटै संसदीय मर्यादा र नियमको उपहास हुनु दुःखद् भएको टिप्पणी गरिन्।
सांसद सङ्ग्रौलाका अनुसार मङ्गलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले रोस्टममा उभिएर सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री साह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नियमावलीको बर्खिलाप हुने गरी सभाभित्र आवतजावत गरेका थिए। प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड (छ) मा कुनै पनि सदस्यले बोलिरहेको समयमा सभामुख र ती बोल्ने सदस्यको बीचबाट हिँड्न वा आवागमन गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था छ।
संसद्मा नियमावली उल्लङ्घनको विषय उठाउँदै सांसद सङ्ग्रौलाले भनिन्, “प्रधानमन्त्रीले नै संसद्को नियम तोडेपछि आम नागरिकबाट नियम पालनको आशा कसरी गर्ने? हिजो सदनमा माननीय खुश्बु ओली बोलिरहेको बेला सम्माननीय प्रधानमन्त्रीज्यू अकस्मात आएर प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड 'छ' उल्लङ्घन गर्नुभएको छ। सभामुख महोदय, सरकारका मन्त्री हुन् या हामी सांसद, नियम सबैलाई बराबर लाग्नुपर्छ। व्यक्तिले होइन, विधिले देश चलाउने हो र देश बनाउने हो।” उनले विधिको शासन नै लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्दै सरकारलाई संसद् र कानुनप्रति जिम्मेवार बन्न आग्रह गरिन्।