दश वर्षअघि आँसु झारेका मेस्सीलाई इतिहास बदल्ने सुनौलो अवसर
यस्तो छ स्पेन र अर्जेन्टिनाको रोचक इतिहास
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
525
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधिका लागि आज स्पेन र अर्जेन्टिनाबीच महाभिडन्त हुँदै गर्दा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीका लागि यो खेल १० वर्षअघिको एउटा पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने विशेष अवसर बन्नेछ। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यस फाइनलले मेस्सीको करियरको एउटा चक्रलाई पूर्णता दिँदैछ।
मेस्सीका लागि यो फाइनल केवल विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको प्रतिस्पर्धा मात्र नभएर सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको तितो सम्झनाको पुनरागमन पनि हो, जहाँ उनले पेनाल्टी चुकाएर बेन्चमा आँसु झार्दै सन्यासको घोषणा गरेका थिए।
त्यसबेला १५ वर्षका किशोर एन्जो फर्नान्डेजले मेस्सीलाई टोलीमै रहन आग्रह गर्दै भावुक सन्देश लेखेका थिए। संयोगवश, तिनै फर्नान्डेज अहिले मेस्सीका अनन्य सहयोगी र टोलीका प्रमुख मिडफिल्डर बनेर लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा मेस्सीको काँधमा काँध मिलाएर मैदान उत्रिँदैछन्। इङ्गल्याण्डविरुद्धको सेमिफाइनलमा बराबरी गोल गर्दै फर्नान्डेजले टोलीलाई फाइनलसम्म डोर्याउन मुख्य भूमिका खेलेका थिए।
प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिना लगातार १४ खेल जित्दै दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो लगातार जितको कीर्तिमान बराबरी गरेर मैदान उत्रनेछ। टोलीको नजर सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने राष्ट्र बन्ने इतिहासतर्फ सोझिएको छ।
अर्कोतर्फ युरोपियन च्याम्पियन स्पेन प्रतियोगिताकै सबैभन्दा बलियो डिफेन्स भएको टोलीका रूपमा उभिएको छ। प्रशिक्षक लुइस दे ला फुएन्तेको रणनीतिमा रहेको स्पेनले पुरुष विश्वकपको एकै संस्करणमा सर्वाधिक ६ वटा 'क्लिनसिट' राख्ने पहिलो टोलीको कीर्तिमान बनाइसकेको छ। विगत ३७ खेलदेखि अपराजित रहेको स्पेन सन् २०१० पछि आफ्नो दोस्रो विश्वकप उपाधि उचाल्ने दाउमा छ।
स्पेन र अर्जेन्टिनाबीचको फुटबल इतिहास निकै रोचक र कडा प्रतिस्पर्धाले भरिएको छ। यी दुई टोलीबीच हालसम्म खेलिएका १४ खेलमा दुवैले ६–६ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएको छ। विश्वकपमा उनीहरूबीचको एकमात्र भेट सन् १९६६ मा भएको थियो, जहाँ अर्जेन्टिना २–१ ले विजयी भएको थियो।
त्यसपछिको पछिल्लो भेट भने सन् २०१८ को मैत्रीपूर्ण खेलमा भएको थियो, जसमा स्पेनले अर्जेन्टिनालाई ६–१ को भारी अन्तरले पराजित गरेको थियो। एक दशकअघि निराशा र आँसुका साथ मेटलाइफ स्टेडियम छाडेका फुटबल जादुगर मेस्सीसँग आज त्यही मैदानलाई आफ्नो खेल जीवनको सबैभन्दा सुखद र अविस्मरणीय सफलताको साक्षी बनाउने ऐतिहासिक मौका छ।