तीस हजारमध्ये १२ सय ५० मेट्रिक टन डीएपी मल नेपाल आइपुग्ने, युरिया ढुवानीको तयारी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
443
Shares
तस्बिर फाइल
काठमाडौँ । ग्लोबल टेन्डरमार्फत खरिद गरिएको कूल तीस हजार मेट्रिक टन डीएपी मलमध्ये पहिलो लटको १२ सय ५० मेट्रिक टन मल आज सोमबार नेपाल आइपुग्दै छ।
गत असार २६ गते भारतको कोलकाता बन्दरगाहमा आइपुगेको उक्त मलमध्ये पहिलो खेप साउन १ गते त्यहाँबाट नेपालतर्फ प्रस्थान गरेको थियो, जुन आज नेपाल आइपुग्ने निश्चित भएको हो।
बाँकी रहेको डीएपी मलको हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) गर्ने काम तीव्र रूपमा भइरहेको छ।
प्याकेजिङ सम्पन्न भएसँगै आजै अर्को एक रेक मल वीरगन्जतर्फ प्रस्थान गरिसकेको र बाँकी मल पनि क्रमशः नेपाल भित्रिने कृषि सामग्री कम्पनीले जनाएको छ।
यसैगरी सोही प्रक्रियामार्फत खरिद गरिएको तिस हजार मेट्रिक टन युरिया मल समेत कोलकाता बन्दरगाहमा आइपुगिसकेको छ।
हाल उक्त युरिया मलको अनलोडिङ र ब्यागिङको काम भइरहेकाले भोलि मंगलबार एक रेक मल वीरगन्जका लागि लोड गरी पठाउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।
रासायनिक मलको यो आपूर्तिको कारण कृषि सिजनमा किसानहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।