इरान युद्धका कारण खाडी मुलुकतर्फ नेपालीको आकर्षण घट्यो
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ५.६ प्रतिशतले कम
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
572
Shares
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली कामदारको सङ्ख्यामा कमी आएको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा नयाँ र पुनः श्रम स्वीकृति गरी कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को (८ लाख ३९ हजार २६६) तुलनामा ४७ हजार ७९ अर्थात् ५.६ प्रतिशतले कम हो। अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुनुलाई पनि यसको एक कारण मानिएको छ।
कुल श्रम स्वीकृति जारी भएकामध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। यसले वैदेशिक रोजगारी अझै पनि ८८ प्रतिशत हिस्सासहित पुरुषकेन्द्रित रहेको देखाउँछ। समीक्षा अवधिमा म्यानपावर कम्पनीमार्फत विदेश जानेको सङ्ख्या अघिल्लो वर्षको ३ लाख ५९ हजार ६७५ बाट घटेर २ लाख ६८ हजार ९९० मा खुम्चिएको छ। यता व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २८ हजार ५२० पुगेको छ, जसमा महिलाको हिस्सा २३.०९ प्रतिशत छ। सरकार–सरकार (जीटूजी) प्रणालीमार्फत भने ८ हजार १९७ जना वैदेशिक रोजगारीमा गएका छन्।
नेपाली कामदारका लागि संयुक्त अरब इमिरेट्स (यूएई) सबैभन्दा ठूलो गन्तव्य बनेको छ, जहाँ कुल स्वीकृतिको २३.१७ प्रतिशत अर्थात् १ लाख ८३ हजार ५८० जना पुगेका छन्। मलेसिया, कतार, साउदी अरेबिया र कुवेतसहित शीर्ष पाँच खाडी एवं एशियन मुलुकले मात्रै कुल रोजगारीको ७७.७९ प्रतिशत हिस्सा ओगटेका छन्। यता युरोपतर्फ भने ३३ हजार ९२० श्रम स्वीकृतिसहित रोमानिया नेपाली कामदारको आकर्षक र सबैभन्दा ठूलो गन्तव्य बनेको छ भने जापान, ओमान, साइप्रस र बहराइन पनि प्रमुख रोजगारीका केन्द्रका रूपमा रहेका छन्