काठमाडौँ। उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको जनाएको छ।
अदालतमा कुल १६ हजार १३९ मुद्दा लगत रहेकामा उक्त संख्याका मुद्दा टुंग्याइएको हो।
मुख्य न्यायाधीश लालबहादुर कुँवरका अनुसार न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार अदालतले दुई वर्ष तथा १८ महिना नाघेका सबै मुद्दा शून्यमा झार्न सफलता हासिल गरेको छ।
हाल एक वर्ष नाघेका ३५३ मुद्दा मात्र बाँकी रहेका छन्।
उनले विकास निर्माण तथा राजस्व असुलीसँग सम्बन्धित मुद्दालाई विशेष प्राथमिकता दिइएको बताए।
उच्च अदालत पाटनका अनुसार चालु आर्थिक वर्षको सुरुआती अवधिमै ७४० मुद्दा फछ्र्योट भइसकेका छन् भने एक वर्ष नाघेका थुनुवा मुद्दा १२ वटा बाँकी छन्।
मातहतका जिल्ला अदालतमध्ये सिन्धुपाल्चोकले सबैभन्दा बढी ७७.४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ।
त्यसपछि रसुवाले ७५.६ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ भने जिल्ला अदालत काठमाडौंको फछ्र्योट दर सबैभन्दा कम ४२.३ प्रतिशत रहेको अदालतले जनाएको छ। रासस