‘माननीय’को मानमर्दन गर्दै स्वयं सांसदहरू, ज्ञानेन्द्र-खगेन्द्रको जुहारीले उब्जायो प्रश्न
हरि पन्त,
प्रकाशित २०८३ साउन ५ मंगलबार
637
Shares
काठमाडौँ । विदेशी भूमिमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न पुगेका सांसदहरूले कस्तो व्यवहार गर्नुपर्छ ? यो प्रश्न अहिले जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको गतिविधिपछि झन् पेचिलो बनेको छ।
नेपाली समुदायसँग भेटघाट, अनुभव आदानप्रदान र राष्ट्रिय मुद्दामा संवाद गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी बनेका दुई सांसद अन्ततः आफ्नै व्यक्तिगत आरोप-प्रत्यारोप र सामाजिक सञ्जालको कटु जुहारीका कारण विवादको केन्द्रमा पुगे ।
कार्यक्रमअघि सांसद शाहीले जापानस्थित नेपालीलाई आत्मीय भेटघाट र खुला छलफलका लागि निमन्त्रणा दिएका थिए। तर कार्यक्रमको मञ्चमै उनले सांसद खगेन्द्र सुनारको नाम लिएर कटाक्ष गरे । त्यसपछि फेसबुक लाइभमा झन् आक्रामक बन्दै रास्वपाका नेता-कार्यकर्ता र समर्थकलाई लक्षित गर्दै अपमानजनक, उत्तेजक र अशोभनीय शब्द प्रयोग गरे।
विरोधीलाई प्रत्यक्ष भिड्न चुनौती दिने, गालीगलौज गर्ने र व्यक्तिगत आरोप लगाउने शैलीले जनप्रतिनिधिको मर्यादामाथि नै प्रश्न उठायो। आलोचना बढेपछि उनले ‘जापानको रक्सी कडा रहेछ’ भन्दै व्यंग्यात्मक स्टाटस लेखेर विवादलाई थप उचाले।
यो विवादमा रास्वपा पनि मौन बसेन। जापानस्थित रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले औपचारिक विज्ञप्ति जारी गर्दै शाहीको अभिव्यक्तिलाई लोकतान्त्रिक मूल्यविपरीत, असंयमित र सार्वजनिक पदको गरिमाविपरीत भएको ठहर गर्यो। विभागले सार्वजनिक रूपमा आत्मसमीक्षा र क्षमायाचनाको माग गर्दै अन्यथा कानूनी तथा संस्थागत प्रक्रिया अघि बढाउने चेतावनीसमेत दियो।
तर विवाद एकतर्फी थिएन । रास्वपाका सांसद खगेन्द्र सुनारले पनि सामाजिक सञ्जालमा व्यंग्यात्मक र व्यक्तिगत टिप्पणी गर्दै शाहीलाई लक्षित गरे। उनले ‘भारत गएर आधा सिए, जापान गएर आधा पिए’ भन्दै टिप्पणी गरे, जुन सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो।
विडम्बना के भने यही कार्यक्रममा उनले आफू प्रधानमन्त्री वालेन्द्र साह (बालेन) र पार्टी सभापति रवि लामिछानेको सन्देश बोकेर आएको दाबी गर्दै नेपाल-जापान सम्बन्ध, लगानी र सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कूटनीतिक सन्देश दिने र सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने दुई फरक अनुहारले उनको भूमिकामाथि पनि प्रश्न खडा गरेको छ।
यो घटनाले केवल दुई सांसदबीचको व्यक्तिगत विवाद मात्र उजागर गरेको छैन, राजनीतिक दलको अनुशासन, सांसदको आचरण र संसदीय संस्कृतिको स्तरमाथि पनि बहस शुरू गराएको छ।
सांसद समाजका लागि आदर्श पात्र हुन्। उनीहरूको बोली, व्यवहार र सार्वजनिक प्रस्तुति नै लोकतन्त्रको संस्कारको प्रतिबिम्ब हो। दलहरूले सांसदलाई आचारसंहिता सिकाउन, कार्यान्वयन गर्न र उल्लङ्घन गर्नेहरूलाई कार्बाही गर्न नसक्दा यस्ता घटना दोहोरिइरहेका छन्। विदेशमा झन् संयमित, जिम्मेवार र शालीन व्यवहार अपेक्षित हुने भए पनि यहाँ त्यसको ठीक उल्टो दृश्य देखिएको छ।
सांसद विदेश जाँदा संसद् वा सम्बन्धित निकायलाई जानकारी दिने अभ्यासको पालना हुनुपर्छ । साथै सांसदहरूको विदेश भ्रमण पनि निश्चित मापदण्ड र जवाफदेहिताभित्र हुनुपर्छ। अन्यथा, जनप्रतिनिधिको भूमिका कमजोर हुने मात्र होइन, संसद्को संस्थागत गरिमामा पनि असर पुग्छ।
जनताले ‘माननीय’ बनाएका व्यक्तिले यदि सार्वजनिक मञ्चमै मर्यादा गुमाउँछन् भने त्यसले व्यक्तिगत छविभन्दा धेरै ठूलो क्षति लोकतान्त्रिक संस्थामाथि पुर्याउने जापानको यो घटनाले एउटा स्पष्ट सन्देश दिएको छ। राजनीतिक प्रतिस्पर्धा स्वभाविक हो, तर त्यसलाई गालीगलौज, उत्तेजना र सामाजिक सञ्जालको युद्धमा बदल्नु जनप्रतिनिधिको नभएको सर्वत्र टिप्पणी भइरहेको छ ।