arrow

जलवायु परिवर्तनलाई विकासको मुख्य एजेन्डा बनाउनु पर्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
gagan-thapa-06-04.jpg

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनलाई नेपालको विकासको मूल एजेन्डाका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन र बीपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले विकासलाई सामाजिक न्याय, मानव कल्याण र दिगोपनसँग जोड्नुपर्नेमा जोड दिए।

थापाले बीपी कोइरालाले ‘समावेशी’ शब्द प्रयोग नगरे पनि व्यवहारमै त्यसको उदाहरण प्रस्तुत गरेको स्मरण गरे।

दक्षिण एसियामै महिलाको राजनीतिक सहभागिता न्यून रहेका बेला बीपीले मन्त्रिमण्डलमा महिलालाई स्थान दिएको, दलित समुदायका प्रतिनिधिलाई पार्टीको महामन्त्री बनाएको तथा सबै जातजाति र भाषाभाषीलाई समेटेर लोकतान्त्रिक अभ्यास अघि बढाएको उल्लेख गर्दै उनले बीपीको समावेशी सोच आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

विकासको अवधारणामाथि चर्चा गर्दै थापाले सामाजिक न्याय, लोककल्याण, नैतिक जिम्मेवारी र दिगोपनलाई बेवास्ता गरेर गरिने विकासको कुनै अर्थ नहुने बताए।

बीपीले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण, प्राकृतिक स्रोतमा न्यायपूर्ण पहुँच र दीर्घकालीन विकासको अवधारणा अघि सारेको स्मरण गर्दै उनले ती दूरदर्शी विचारलाई वर्तमान सन्दर्भमा पुनः आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले पछिल्ला वर्षहरूमा विकासको प्रतिस्पर्धामा लाग्दा बीपीका ती मूलभूत विचार ओझेलमा परेको स्वीकार गर्दै नेपाली कांग्रेस अब भविष्यतर्फ अघि बढ्दा विगतबाट सिक्न तयार रहेको बताए।

सभापति थापाले जलवायु परिवर्तनलाई अब नेपालको विकास नीतिको केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि पार्टीले आफ्नै अग्रजका विचार र निर्णयलाई पुनः अध्ययन गर्ने बताए।

बीपी स्मृति दिवसको अवसरमा आयोजित छलफलबाट प्राप्त सुझाव र अनुभवलाई पार्टीले नीति निर्माण तथा व्यवहारिक कार्यान्वयनमा उपयोग गर्ने पनि उनले स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ