मधेसमा पार्टी कमजोर भए देश र कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति हुन्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
214
Shares
जनकपुर। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन्।
बुधबार जनकपुरधाममा नेपाली कम्युनिष्ट पार्टी, मधेस प्रदेशद्वारा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले मधेस प्रदेश राजनीतिक, सामाजिक र विकासका दृष्टिले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए।
प्रचण्डले मधेसमा पार्टी संगठन विस्तार र एकतालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै यहाँ बलियो संगठन निर्माण गर्न नसके गम्भीर राजनीतिक परिणाम आउन सक्ने चेतावनी दिए।
उनले प्रतिनिधिसभा निर्वाचनअघिसम्म पार्टीको अवस्था सन्तोषजनक रहे पनि अन्तिम समयमा विकसित अप्रत्याशित राजनीतिक घटनाक्रमका कारण अपेक्षित परिणाम हासिल गर्न नसकिएको स्वीकार गरे। त्यसको गम्भीर समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरिने उनले बताए।
पार्टी विस्तार अभियानलाई प्रभावकारी बनाउन युवालाई नेतृत्वमा प्राथमिकता दिइने उल्लेख गर्दै प्रचण्डले पार्टी समितिमा ५० प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा उनले मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउँदै पार्टी एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।