जलवायु परिवर्तनले युरोपमा खडेरीलाई थप गम्भीर बनाएको निष्कर्ष
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
323
Shares
काठमाडौँ । मानव गतिविधिका कारण बढेको जलवायु परिवर्तनले युरोपमा खडेरीलाई अझ गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ। अध्ययनअनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई, बढ्दो तापक्रमका कारण माटो, नदी र तालबाट आर्द्रता तीव्र रूपमा घटेकाले सुक्खापन झन् चर्किएको हो।
जुन महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्मका धेरै देशले सुक्दै गएका नदी, पानीको प्रयोगमा प्रतिबन्ध तथा भीषण डढेलोको सामना गरिरहेका छन् भने युरोप अहिले व्यापक खडेरीको चपेटामा परेको छ। विश्व मौसम एट्रिब्युसन (डब्लुडब्लुए) समूहको अध्ययनकी सहलेखक मरियम जचारियाले वसन्त ऋतुमा युरोपका धेरै क्षेत्रमा औसतभन्दा कम वर्षा भए तापनि जलवायु परिवर्तनले बढाएको तापक्रमले खडेरीलाई गम्भीर बनाएको बताउनुभयो। उनका अनुसार अध्ययनले खडेरीको मुख्य कारण वर्षाको कमीभन्दा पनि तातो वातावरणले जमिनबाट बढी आर्द्रता तानेको देखाएको छ।
इम्पेरियल कलेज लन्डनमा कार्यरत जचारियाले तातो वातावरणका कारण वर्षा सामान्य रहने वा भविष्यमा केही बढ्ने अनुमान गरिएका क्षेत्रमा समेत खडेरीको जोखिम बढ्दै गएको बताउनुभयो। वैज्ञानिकहरूका अनुसार तापक्रम प्रत्येक एक डिग्री सेल्सियस बढ्दा वायुमण्डलले करिब सात प्रतिशत बढी जलवाष्प धारण गर्न सक्छ, जसका कारण माटो र वनस्पतिबाट पानीको वाष्पीकरण तीव्र हुन्छ। अध्ययनमा सन् १८५०–१९०० को पूर्व–औद्योगिक अवस्थासँग तुलना गर्दा कोइला, तेल र ग्यासको अत्यधिक प्रयोगका कारण पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियस बढिसकेको उल्लेख गरिएको छ।
जलवायु परिवर्तनले खडेरी, बाढी र गर्मीको लहरजस्ता चरम मौसमी घटनाहरू थप बारम्बार र तीव्र बनाइरहेको वैज्ञानिकहरूको भनाइ छ। विश्वकै सबैभन्दा तीव्र रूपमा तापक्रम बढिरहेको महाद्वीप युरोप भएकाले यसको प्रभाव त्यहाँ अझ स्पष्ट देखिएको छ। कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार गत जुन महिना पश्चिमी युरोपमा हालसम्मकै सबैभन्दा तातो जुन बनेको थियो, जसका कारण हजारौँ अतिरिक्त मृत्यु भएको अनुमान गरिएको छ।
अध्ययनका अर्का सहलेखक तथा इटीएच जुरिचका डोमिनिक शुमाकरले जाडोयाममा पर्याप्त वर्षा भएका क्षेत्रसमेत केही महिनामै असाधारण रूपमा सुक्खा बनेको बताउनुभयो। तातो हावाले माटोको आर्द्रता तीव्र रूपमा घटाउने, त्यसपछि तापक्रम अझ बढ्ने र माटो झन् सुक्दै जाने दुष्चक्र सिर्जना हुने भएकाले यसले डढेलो फैलिने जोखिमसमेत उल्लेखनीय रूपमा बढाएको उहाँको भनाइ छ।
युरोप, संयुक्त राज्य अमेरिका र बेलायतका वैज्ञानिकहरूले मौसमसम्बन्धी तथ्याङ्क र कम्प्युटर मोडेलको विश्लेषण गरी हालको तातो जलवायु र पूर्व–औद्योगिक अवस्थाको तुलना गर्दै यो अध्ययन गरेका हुन्। अध्ययनअनुसार जलवायु परिवर्तन नभएको अवस्थाको तुलनामा अहिले पश्चिमी युरोपमा अत्यधिक सुक्खा माटो हुने सम्भावना पाँच गुणा र पूर्वी युरोपमा ११ गुणा बढी छ। साथै, पश्चिमी युरोपमा अप्रिलदेखि जुनसम्म माटो र वनस्पतिबाट आर्द्रता सोस्ने वातावरणीय क्षमता करिब ८० गुणा बढी हुने सम्भावना देखिएको छ। अहिलेको वायुमण्डल पहिलेभन्दा धेरै ‘तिर्खाएको’ अवस्थामा पुगेकाले पहिले सामान्य मानिने वर्षाको कमीले पनि अब निकै गम्भीर खडेरी निम्त्याउन सक्ने निष्कर्ष अध्ययनले प्रस्तुत गरेको छ।