नेपाली शान्ति सेनाले कङ्गोमा घाइते सैनिकको बचाए ज्यान
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
445
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कङ्गोमा कार्यरत नेपाली शान्ति सेनाले घाइते सैनिकको हेलिकोप्टरमार्फत सफल उद्धार गरेका छन्।
इटुरी प्रान्तको जुगु क्षेत्रस्थित फाताकीमा दुर्घटनावश घाइते भएका कङ्गोका एक सैनिकलाई नेपाली शान्ति सेनाको समन्वयमा सुरक्षित रूपमा उद्धार गरिएको हो।
घाइते सैनिकलाई प्रारम्भिक उपचारका लागि फाताकी अस्पतालमा लगिएको थियो। त्यसपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत बुनिया सहरमा स्थानान्तरण गरिएको जनाइएको छ।
उद्धार अभियान नेपाली शान्ति सेना र कङ्गोको राष्ट्रिय सेनाबीचको समन्वयमा सम्पन्न भएको थियो। उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन नेपाली शान्ति सेनाले महत्वपूर्ण भूमिका खेलेका थिए।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनले यो अभियानले नेपाली शान्ति सेना र कङ्गोको राष्ट्रिय सेनाबीचको सहकार्यलाई थप मजबुत बनाएको तथा आपत्कालीन अवस्थामा छिटो र प्रभावकारी रूपमा काम गर्ने क्षमताको उदाहरण प्रस्तुत गरेको जनाएको छ।
नागरिकको सुरक्षा र शान्ति स्थापनाको साझा जिम्मेवारी पूरा गर्ने क्रममा नेपाली शान्ति सेनाले पुनः आफ्नो व्यावसायिक दक्षता र प्रतिबद्धता प्रदर्शन गरेका छन्।