अहिलेसम्मकै ठूलो आक्रमण गर्ने तयारीमा अमेरिका, भारी मूल्य चुकाउनुपर्ने इरानको चेतावनी
उच्च सतर्कतामा बेलायती सेना
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमणका लागि तयार रहेको बताएका छन्। उनले तयारी पूरा भइसकेको र अब केवल निर्णय लिन मात्र बाँकी रहेको उल्लेख गर्दै इरानले हालसम्म पर्याप्त पीडा महसुस नगरेको दाबी गरेका छन्।
ट्रम्पको उक्त बयानलगत्तै इरानले पनि कडा प्रतिवाद गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले यदि अमेरिकाले आक्रमण जारी राखेमा त्यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै युद्ध अन्त्य गर्ने बाटो नयाँ आक्रमण नभई वार्ता मात्र भएको बताएका छन्।
यसैबीच बेलायतले पनि आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। बेलायती सरकारले आवश्यकता परेमा देशको सुरक्षाका लागि आफ्ना सेना पूर्ण रूपमा तयार रहेको जनाएको छ। यसअघि, इरानको रिभोलुसनरी गार्डले यदि अमेरिकाले बेलायती सैन्य अड्डा प्रयोग गरेमा ती ठेगानाहरूलाई पनि निशाना बनाइने चेतावनी दिएको थियो।