राष्ट्र बैंकको निर्देशिका, वालेट खोल्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
224
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ।
भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार अब भुक्तानी सेवा प्रदायक अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गरेर मात्र वालेट खोल्नुपर्नेछ।
संशोधित व्यवस्थाअनुसार अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा लिनुपर्नेछ। राष्ट्रिय परिचयपत्र लिइसकेका नेपाली नागरिकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ भने नलिएका प्रयोगकर्तालाई परिचयपत्र प्राप्त गरेपछि विवरण अद्यावधिक गर्न नियमित जानकारी गराउने व्यवस्था मिलाउनु पर्नेछ।
विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विदेशबाटै अनलाइनमार्फत कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था यथावत् राखिएको छ तर उनीहरूले नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण सम्बन्धित संस्थामा अद्यावधिक गर्नुपर्नेछ। यसैगरी, आफ्नै हेरचाह गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा भने राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा पनि वालेट खोलेर कारोबार गर्न सकिने लचकता संशोधित निर्देशिकामा अपनाइएको छ।