साउनको हरियो र पहेँलो श्रृंगार: वार्षिक करोडौँ रकम विदेशिँदै
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
135
Shares
काठमाडौं । साउन महिना सुरु भएसँगै नेपाली महिलाहरूको गला पोते र नाडी हरिया तथा पहेँला चुराले सजिने गरे तापनि यसको आर्थिक पाटो भने निकै परनिर्भर देखिन्छ। हिन्दु धर्मावलम्बी महिलाहरूका लागि प्रकृति र संस्कृतिको संगम मानिने साउनमा लगाइने चुरा, रङ्गीन पोते र टिकाका लागि वर्षेनी करोडौँ रुपैयाँ बाहिरिने गरेको छ।
भन्सार विभागको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा श्रृंगारका यी सामग्रीको आयातदर अत्यधिक उच्च रहेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै नेपालले ६० करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको (३४ लाख ७० हजार ५२५ ग्रस) चुरा, टिका र पोते आयात गरेको छ। यसअघि आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ६४ लाख ८८ हजार रुपैयाँ (३८ लाख ५२ हजार ८०३ ग्रस) र आर्थिक वर्ष २०८०/८१ मा ५४ करोड २० लाख ७४ हजार रुपैयाँ (३७ लाख ५२ हजार ग्रस) बराबरका यी सामग्री भित्रिएका थिए।
विगत तीन वर्षको तथ्यांक हेर्दा नेपालबाट वार्षिक औसत ५३ करोड रुपैयाँभन्दा बढी रकम केवल चुरा, पोते र टिका खरिदका लागि बाहिरिने गरेको प्रस्ट हुन्छ। नेपालमा यी सामग्रीहरू छिमेकी मुलुक भारत र चीनसहित कतार, अमेरिका, उज्वेकिस्तान र अस्ट्रेलियालगायतका विभिन्न सुदूर देशहरूबाट समेत आयात हुने गरेका छन्। विशेषगरी पोतेका दानाहरू तेस्रो मुलुकबाट ल्याएर नेपालमा उनेर बजारमा पठाइने गरिन्छ।
संस्कृतिविद्हरूका अनुसार साउनमा हरियो लगाउनुको अर्थ प्रकृतिसँग नजिक हुनु हो र वर्षायामको हरियालीको प्रतीक स्वरूप महिलाहरूले हरियो पहिरन र श्रृंगार गर्ने गर्छन्। तर, यो सांस्कृतिक सौन्दर्यभित्र लुकेको आर्थिक परनिर्भरता भने डरलाग्दो छ। स्वदेशमै यस्ता सामग्रीहरूको उत्पादनमा जोड दिन सके वर्षेनी विदेशिने ५० करोडभन्दा बढी रुपैयाँ जोगाउन सकिने र संस्कृतिसँगै अर्थतन्त्र पनि बलियो बन्ने देखिन्छ।