राष्ट्रिय विभूतिको आदर्शबाट प्रेरणा लिएर स्वाधीनता र राष्ट्रिय अस्मिता जोगाउन आह्वान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
218
Shares
काठमाडौँ। राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा र मुख्तियार जनरल भीमसेन थापाको योगदान स्मरण गर्दै देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय अस्मिता संरक्षणका लागि उनीहरूको आदर्शबाट प्रेरणा लिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।
बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालद्वारा राष्ट्रिय विभूति वीर योद्धा बडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस तथा मुख्तियार जनरल भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा. राम थापा क्षेत्रीले राष्ट्रिय विभूति भीमसेन थापाले नेपालको इतिहासमा अतुलनीय योगदान पुर्याएको उल्लेख गर्दै उनको देशभक्ति, इमानदारिता, नैतिकता र अदम्य साहस आज पनि अनुकरणीय रहेको बताए।
उनले भने, ‘गोरखामा जन्मिएका राष्ट्रिय विभूति भीमसेन थापाले नेपालको इतिहासमा धेरै महत्वपूर्ण योगदान गर्नुभयो। उहाँले आफ्नो जीवनभर देशभक्ति, इमानदारिता, नैतिकता र अदम्य साहसको परिचय दिनुभयो। त्यसकै परिणामस्वरूप हामी आज सुगौली सन्धिपछिको वर्तमान नेपालमा बाँचिरहेका छौँ।’
डा. थापाले सुगौली सन्धिपछिको नेपालको अस्तित्व कायम रहन वीर पुर्खाहरूको बलिदान निर्णायक रहेको उल्लेख गर्दै नालापानी, सिन्धुलीगढी, किल्ला-काँकडा लगायतका ऐतिहासिक युद्धस्थलमा नेपाली वीरहरूले देशको स्वतन्त्रता र स्वाभिमानका लागि आफ्नो रगत बगाएको स्मरण गरे।
उनले भने, ‘किल्ला-काँकडा, नालापानी, सिन्धुलीगढीलगायतका धेरै गढीहरू सम्झिन चाहन्छु, जहाँ हाम्रा वीर पुर्खाहरूले देशको स्वाधीनताका लागि आफ्नो रगत बगाउँदै प्राण उत्सर्ग गर्नुभयो।’
त्यसैगरी वरिष्ठ चिकित्सक प्रा. डा. बुद्धिबहादुर थापाले आफ्नो लामो चिकित्सकीय सेवायात्राका क्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेको अनुभव सुनाउँदै क्षेत्री अस्पतालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
उनले उक्त अस्पताललाई सरकारी स्वामित्वमा ल्याई गण्डकी प्रदेशकै प्रतिष्ठित स्वास्थ्य संस्थाका रूपमा विकास गर्न तथा एमडीएस अध्ययन शुरू गर्ने प्रक्रियामा संस्थापक नेतृत्व गर्ने अवसर पाएको उल्लेख गरे।
उनले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको व्यवस्थापन तथा फोक्सोसम्बन्धी रोग उपचार सेवाको विकासमा पनि सक्रिय योगदान दिएको जानकारी दिए। स्वास्थ्य क्षेत्र र सामाजिक सेवामा पुर्याएको योगदानका आधारमा विभिन्न संघसंस्थाबाट सम्मान तथा पुरस्कार प्राप्त गरेको उनले बताए।
उनले कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी तथा धवलागिरि क्षेत्रका बगाले थापा समुदायका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गर्दै आगामी साउन १६ गते पोखरामा आयोजना हुने महाराज अमरसिंह थापाको जन्मजयन्ती कार्यक्रममा सहभागी हुन सबैलाई निमन्त्रणा दिए।
कार्यक्रमका वक्ताहरूले राष्ट्रिय विभूतिहरूले देखाएको त्याग, समर्पण र राष्ट्रभक्तिबाट प्रेरणा लिएर नेपालको स्वाधीनता, स्वाभिमान, राष्ट्रिय अस्मिता तथा राष्ट्रिय एकताको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।