देशभर २४ घण्टामा विपद्का २९ घटना: छ जनाको मृत्यु, १३ घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
299
Shares
काठमाडौं । नेपालका २४ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा भएका २९ वटा प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ९ गते बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार सर्पदंशबाट ४ जना, पहिरोबाट १ जना र ग्यास विष्फोटबाट १ जनाले ज्यान गुमाएका हुन्।
पछिल्लो २४ घण्टाको अवधिमा ७ जिल्लामा भएका ११ वटा सर्पदंशका घटनाबाट ४ जनाको मृत्यु र ७ जना घाइते भएका छन् भने ७ जिल्लामा घटेका ८ वटा पहिरोका घटनामा १ जनाको मृत्यु र ३ जना घाइते हुनुका साथै १ जनाको सकुशल उद्धार गरिएको छ। यसैगरी ग्यास विष्फोटको एक घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन्।
यसबाहेक आगलागीका ४, बाढीको १, अविरल वर्षाका २, लेक लाग्ने १ र जनावर आक्रमणका १ वटा घटनामा मानवीय क्षति नभए पनि विभिन्न भौतिक क्षति पुगेको छ। विपद्का यी घटनाहरूका कारण देशभर ६ वटा प्रमुख सडक मार्गहरू अवरुद्ध भएका छन्, ९ वटा चौपायाको क्षति भएको छ र करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ। यी सम्पूर्ण विपद् व्यवस्थापन र उद्धार कार्यका लागि देशभर जम्मा १२८ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि साउन ९ गतेसम्मको मौसमी तथ्याङ्कलाई हेर्दा मुलुकभर कुल ३ हजार ७४० वटा विपद्का घटना भएका छन्। यस अवधिमा विभिन्न विपद्का कारण १ सय ८३ जनाको मृत्यु भएको छ, ३ जना बेपत्ता भएका छन्, १ हजार ७६ जना घाइते भएका छन् र ४ हजार ८ सय ८ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। समग्र मौसमी क्षतिमा विशेषगरी सर्पदंशबाट ५२, चट्याङबाट २५, लेक लागेर २१, आगलागीबाट १८, जनावर आक्रमणबाट १७, पहिरोबाट १४, बाढीबाट १३ र हावाहुरीबाट १३ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ।
तराई तथा भित्री मधेसमा गर्मी र वर्षाका कारण सर्पको उच्च जोखिम रहेकाले राति टर्च लाइट बाल्न, घर वरिपरि सरसफाइ राख्न र सर्पले टोकेमा झाँक्रीकहाँ नभई तत्काल नजिकैको सर्पदंश उपचार केन्द्रमा जान गृह मन्त्रालयले आग्रह गरेको छ। साथै, पहिरो तथा बाढी प्रभावित जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा पूर्वसूचना लिएर सतर्कता अपनाउन र आपत्कालीन अवस्थामा नजिकैको प्रहरी चौकी वा प्राधिकरणका आधिकारिक च्यानलमा सम्पर्क गर्न अनुरोध गरिएको छ।