सवारी दुर्घटनामा पाँचको मृत्यु, एक सय २४ जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
547
Shares
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सिरहाको गोलबजार नगरपालिका-१० गैरीचोकदेखि करिब दुई सय मिटर उत्तर भित्री सडकखण्डमा घुर्मीघाटबाट चौहर्वातर्फ आउँदै गरेको बा३८प ६८८६ नम्बरको मोटरसाइकलले पैदलयात्री ७२ वर्षीय बिर्खबहादुर थापा मगरलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो।
बाराको करैयामाई गाउँपालिका-८ नरहीचोक-इटहर सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री उमेश साह सोनार र पवन साह सोनारलाई ठक्कर दिएको थियो।
दुवैलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज लगिएकोमा उपचारकै क्रममा २५ वर्षीय उमेश साह सोनारको मृत्यु भएको प्रहरीले जनाएको छ। पवन साह सोनारको उपचार भइरहेको छ भने दुर्घटनामा संलग्न मोटरसाइकलको खोजी भइरहेको छ।
यस्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ स्थित हुलाकी सडकखण्डमा नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४५५२ नम्बरको बसले लु.प्र. ०१-००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित सवार दुई जनाको मृत्यु भएको छ।
गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतक दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीनै घटनाबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।