नारायणी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
128
Shares
काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि साङ्घातिक आक्रमण गर्ने दोषीहरूलाई कडा कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ।
सङ्घले एक विज्ञप्ति जारी गर्दै शनिबार बेलुका करिब ४०–५० जनाको समूहले डा. राममाथि मरणासन्न हुने गरी गरेको आक्रमणको घोर भर्त्सना गरेको छ।
शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्या भएका बिरामीको मृत्युको विषयलाई लिएर घटनाको यथार्थ नबुझी अस्पतालमा तोडफोड र आतङ्क सृजना गरिएको सङ्घको भनाइ छ।
सोही क्रममा ड्युटीमा रहेका डा. राममाथि आक्रमण भएको थियो।
स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा आतङ्क सिर्जना गर्ने यस्ता आपराधिक घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याई कडा कारबाही गर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सुरक्षित एवं भयरहित वातावरणमा सेवा प्रवाह गर्ने भरपर्दो व्यवस्था मिलाउन सङ्घले नेपाल सरकारसँग जोडदार माग गरेको छ।