काठमाडौं । नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना र जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित रहेर तयार पारिएको ‘नेपालको जलस्रोत’ नामक पुस्तक सार्वजनिक भएको छ।
आइतबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष समारोहका बीच जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र यादव र अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त पुस्तकको लोकार्पण गरेका हुन्। जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अङ्ग्रेजी दुवै भाषामा लिखित यस पुस्तकले नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ तथा दिगो विकासका आयामहरूलाई तथ्य र विश्लेषणसहित उजागर गरेको छ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपेन्द्र यादवले नेपाल विश्वकै जलसम्पन्न देश भए पनि यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उचित उपयोग हुन नसकेको धारणा व्यक्त गरे। उनले जलस्रोतलाई केवल ऊर्जा उत्पादनमा मात्र सीमित नराखी कृषि, खानेपानी, सिँचाइ, उद्योग, वातावरण संरक्षण र समग्र आर्थिक रूपान्तरणसँग जोडी दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, लेखक महाजन यादवले नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउने तथा नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी र सरोकारवालाहरूका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउने उद्देश्यले पुस्तक तयार पारिएको बताए। उनका अनुसार पुस्तकले जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि भविष्यका अवसर–चुनौती र जलवायु परिवर्तनको युगमा अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक उपायहरूको समेत विस्तृत विश्लेषण प्रस्तुत गरेको छ।
विभिन्न राजनीतिक दलका नेता, जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारी र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा यस पुस्तकले नेपालको जलस्रोतसम्बन्धी नीति निर्माण, अध्ययन तथा अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरिएको थियो।