विदेशी लगानी र राष्ट्रिय छविका लागि वित्तीय पारदर्शिता आवश्यक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
221
Shares
काठमाडौँ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाका प्रतिनिधिहरूका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
नेपाल सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को पाँचौँ संशोधनमार्फत गैरनाफामूलक संस्थालाई पनि कानूनी दायरामा समेटेपछि सदस्य संस्थाहरूलाई नीतिगत स्पष्टता र कानूनी सचेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एआइएनले जनाएको छ।
कार्यक्रममा सरकारका प्रतिनिधि तथा प्राविधिक विज्ञहरूले सम्पत्ति शुद्धीकरण, आतङ्ककारी गतिविधिमा वित्तीय लगानी निवारण तथा विद्यमान कानुनी व्यवस्था र कार्यान्वयनका विषयमा जानकारी गराएका थिए।
एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको बताइन्।
उनले नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’ मा परेकाले यसलाई चुनौती मात्र नभई वित्तीय प्रणाली सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखिन्।
उनका अनुसार ग्रे लिस्टिङले विदेशी लगानी, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार, रेमिट्यान्स तथा नेपालको अन्तर्राष्ट्रिय छविमा प्रभाव पार्न सक्छ।
त्यसैले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रणलाई आर्थिक स्थायित्व, सुशासन र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण विषयका रूपमा हेर्नुपर्ने उनले बताइन्।
कार्यक्रममा एआइएनका सदस्य संस्थाका कार्यकारी प्रमुख, विभागीय प्रमुख, सरकारी अधिकारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।