arrow

एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरण: एमाले नेता गैरेले मागे शिक्षामन्त्रीको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
thakur-gaire-10-04.jpg

काठमाडौँ। नेकपा (एमाले)का नेता ठाकुर गैरेले पार्टीको केन्द्रीय कमिटी बैठक हालसम्म बस्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका विषयक कार्यक्रममा बोल्दै गैरेले गत फागुन २१ गते भएको निर्वाचनपछि हालसम्म केन्द्रीय कमिटी बैठक बस्न नसकेको उल्लेख गरे ।

उनले निर्वाचनको समीक्षा गर्नसमेत बैठक बस्न नसक्नु कम्युनिष्ट पार्टीका लागि विडम्बनापूर्ण अवस्था भएको टिप्पणी गरे ।

उनले भने,‘फागुन २१ मा चुनाव भएको हो। आज साउनको १० मा छौं । एमाले जस्तो पार्टीको केन्द्रीय कमिटी हुन सकेको छैन । बैठक बसेर किन चुनाव हार्यौं भनेर समीक्षा गर्नुपर्नेछ। तर यो भन्दा बिडम्बना कम्युनिष्ट पार्टीको जीवनमा के हुन सक्छ ?’

त्यसैगरी, गैरेले वर्तमान सरकारको कार्यशैलीप्रति पनि आलोचना गरे ।

उनले सरकारले नेपाल-भारत सीमा सम्बन्धी विषयमा नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोजिरहेको आरोप लगाए ।

साथै, प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको विषय उल्लेख गरेको दाबी गर्दै त्यसबारे सरकारले स्पष्ट जवाफ नदिएको बताए ।

शिक्षा क्षेत्रको विषय उठाउँदै गैरेले भारतमा आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएको उदाहरण प्रस्तुत गरे ।

नेपालमा भने एमबीबीएसको प्रश्नपत्र चुहावट भएको घटनापछि शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्न खोजिएको आरोप लगाए । उनले सरकारले उक्त प्रकरणबाट उम्किन प्रयास गरिरहेको दाबी गरे ।

उनले भने, ‘भारतमा भइरहेको आन्दोलनले शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो । त्यो शिक्षा क्षेत्रको एउटा मागको विषयले हो । नेपालमा पनि एमबीबीएसको प्रश्नपत्र लिक भएको छ, शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल बनाएर ढाकछोप गर्न खोज्दैछ, सरकार उम्किन खोज्दैछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ