संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै सडक आन्दोलनको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
267
Shares
काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ।
आइतबार राजधानीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलले जानकारी गराएका छन्।
पार्टी केन्द्रीय समितिको बैठकबाट आन्दोलनको औपचारिक निर्णय गरिने बताउँदै उनले बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली तथा भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर छलफल भएको उल्लेख गरे।
अध्यक्ष लुइँटेलले प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री वालेन्द्र साहले विदेशीले बोकाइदिएको भारी बोकिरहेको गम्भीर आरोप लगाए।
मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध भइरहेको कारबाही प्रभावकारी हुन नसकेको र भ्रष्टाचारीलाई समात्ने, थुन्ने अनि छोड्ने प्रवृत्ति बढेको भन्दै उनले यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिए। वर्षायाम सकिनेबित्तिकै पार्टीले आफ्ना मुख्य एजेन्डाहरूलाई लिएर देशव्यापी रूपमा सडक आन्दोलन थाल्ने उनले प्रष्ट पार्दै बताए।