शिक्षामन्त्री भन्छन्- एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामा मुख्य आरोपी पक्राउ परिसकेको छ
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
288
Shares
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न मुख्य आरोपी पक्राउ परिसकेको र घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको बताएका छन्।
सोमबार जनकपुरधामस्थित संकटमोचन विद्यालयमा विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण कार्यक्रमपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र बाहिरिएको विषयमा सरकारले तत्कालै प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन्। उनले घटनाबारे हिजो नै आवश्यक काम सुरु गरिएको उल्लेख गर्दै २४ घण्टाभित्रै मुख्य आरोपीलाई नियन्त्रणमा लिन सफल भएको बताए।
सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा मन्त्री पोखरेलले भने, ‘एमबीएसको प्रश्नपत्र बाहिरिएको विषयमा हिजो नै हामीले काम अगाडि बढाइसकेका थियौँ। २४ घण्टाभित्र मुख्य आरोपी पक्राउ परिसकेका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ र यसमा जो–जो जिम्मेवार छन्, सबैलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ।’
साथै, प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गरी कानुनी दायरामा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइरहेको उनले जानकारी दिएका छन्।