बचत फिर्ता नभए सशक्त आन्दोलन गर्ने सहकारी पीडितको चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
338
Shares
काठमाडौँ। सहकारी पीडित बचतकर्ताहरूले आफ्नो बचत रकम तत्काल फिर्ता नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै उनीहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाए। प्रदर्शनकारीले साना र ठूला बचतकर्ता भनेर पीडितलाई विभाजन गर्न खोजिएको भन्दै त्यसको विरोधसमेत गरेका छन्।
महासंघका अध्यक्ष कुशलभ केसीले पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि बचतकर्ताको माग सम्बोधन नभएको भन्दै अब पनि समस्या समाधान नभए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिए। उनले विगतमा सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न पनि माग गरे।
उनले सहकारी पीडित सबै समान भएकाले सानो र ठूलो बचतकर्ताका नाममा विभेद नगरी सबैलाई समान व्यवहार गर्दै बचत रकम फिर्ता गर्न सरकारसँग आग्रह गरे।
सरकारले हाल ठूला ऋणीबाट कर्जा असुल गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति अघि सारेको छ। तर पीडितहरूले यस्तो नीति विभेदकारी भएको दाबी गर्दै सबै बचतकर्ताले समान रूपमा न्याय पाउनुपर्ने माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्’, ‘सानो र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘सहकारी पीडित बचतकर्तालाई न्याय देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरूले आफूहरू ठगिएको दाबी गर्दै सम्बन्धित सहकारी सञ्चालकहरूको तस्वीरसहितका ब्यानरसमेत प्रदर्शन गरेका थिए।