arrow

पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी-पर्यटन व्यवसायीबीच सहकार्य बढाउने प्रतिबद्धता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
paryatan-pokhara.jpg

पोखरा। नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी र पर्यटकमैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पोखरा पर्यटन परिषद्को आयोजनामा भएको कार्यक्रममा पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदयात्रा मार्गको सुरक्षा, होटल व्यवस्थापन तथा प्रहरी-व्यवसायी सहकार्यका विषयमा विस्तृत छलफल गरियो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो शर्त भएको बताए।

उनले व्यवसायी र प्रहरीबीचको आपसी समन्वयबाट मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने उल्लेख गर्दै यस्ता संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गमा हुने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै विभिन्न स्थानमा सुरक्षाका स्थायी युनिट स्थापना गर्नुपर्ने माग गरे।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकलमार्फत ‘स्कर्टिङ’ गर्ने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यानाकर्षण गराए।

पोखरा पर्यटन वर्षका संयोजक गोपी भट्टराईले भारतीय पर्यटकको आगमन बढिरहेका बेला गण्डकी प्रदेश प्रहरी र कास्की प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) वीरेन्द्र घर्तीले होटल तथा भाडाका कोठामा लामो समय बस्ने व्यक्तिबाट हुनसक्ने अवैध गतिविधिप्रति प्रहरी सतर्क रहेको जानकारी दिए।

उनका अनुसार प्रहरीले शंकास्पद गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको छ। होटल व्यवसायी र घरधनीले आफ्ना पाहुनाको पहिचान सुनिश्चित गरी कुनै पनि शंकास्पद गतिविधिको सूचना तत्काल प्रहरीलाई उपलब्ध गराइदिन उनले आग्रह गरे।

लेकसाइड क्षेत्रका विभिन्न पर्यटनसम्बद्ध संघ-संस्था, होटल, ट्राभल तथा ट्रेकिङ व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले सुरक्षित पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र सुरक्षा निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ