काठमाडौँ। देशका विभिन्न छ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
धनकुटाको चौबिसे गाउँपालिका-४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावरको सामान बोकेर जाँदै गरेको प्र १-०२-००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि आगलागी हुँदा चालक भोजपुरका ३० वर्षीय विशाल राईको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बाराको कलैया उपमहानगरपालिका-१७ ब्रह्मपुरीमा ना४५प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किँदा चालक कलैया-३ निवासी १५ वर्षीय सोयब मन्सुर गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा उनको मृत्यु भएको हो। दुर्घटनामा पछाडि सवार १५ वर्षीय साहिद अन्सारी घाइते भएका छन्।
ललितपुरको महाँकाल गाउँपालिका-२ कटनभन्ज्याङमा बीएए ४६३९ नम्बरको स्कार्पियो करिब ५० मिटर तल खस्दा काठमाडौं कोटेश्वरका ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ पानीट्याङ्कीमा बा.प्र. ०२-०३६ प ४८४१ नम्बरको स्कुटर चिप्लिएर विद्युत् पोलमा ठोक्किँदा करिब ३२ वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।
पाल्पाको तानसेन नगरपालिका-१२ गाईघाटस्थित पाल्पा-गुल्मी सडकखण्डमा लु२ख २४४७ नम्बरको इँटा बोकेको टिपर ब्रेक फेल भई पल्टिँदा सहचालक बागलुङका २६ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको छ। चालक २८ वर्षीय मिनबहादुर कुमाल घाइते भएका छन्।
त्यसैगरी अछामको कमलबजार नगरपालिका-२ जुगेपानीमा सु.प.प्र. ००१ ह ८४४० नम्बरको अटो अनियन्त्रित भई करिब २० मिटर तल खस्दा सवारमध्ये कमलबजार-५ निवासी बेलु भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।