arrow

अर्थमन्त्री वाग्लेको प्रष्टीकरण

बालेनले ‘बाइपास’ गरेको चर्चाबीच यसो भन्छन् अर्थमन्त्री वाग्ले [भिडियो]

प्रधानमन्त्री साहसँग आर्थिक एजेण्डामा गहिरो समन्वय छ, अफवाहको पछि नलाग्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
swarnims---.jpg

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र साह बालेनसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बजारमा फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरूलाई आग्रह गरेका छन्।

केही समययता प्रधानमन्त्री साहले निजी क्षेत्रसँग गरेका छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित रहेको र प्रधानमन्त्रीले बेवास्ता गरेको भई सञ्चारमाध्यममा समाचारहरू प्रकाशित भएपछि मङ्गलवार अर्थ मन्त्रालयमा उद्यमीहरूसँगको छलफलमा उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

अर्थमन्त्री वाग्लेले आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको स्पष्ट पार्दै प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको र उद्यमीहरूले उठाएका विषयमा मन्त्रीहरूसँग सोझै फलोअप गर्ने गरेको बताए। व्यवसायी र प्रधानमन्त्रीबीच बीचमा कोही नभई सोझै ‘नो फिल्टर’ र ‘नो इन्टरमिडियसन’ कुराकानी होस् भन्ने दुवैको चाहना रहेको तथा प्रधानमन्त्री स्वयं सार्वजनिक कार्यक्रमहरूमा कमै देखिने भएकाले यो काम आपसी सल्लाहमा नै गरिएको उनको भनाइ थियो।

उनले भने, ‘अब हाम्रो साझा एजेन्डा भनेको इन्भेस्टमेन्ट नै हो । सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । मुख्य विषयहरूमा उनले सोझै र तत्काल म लगायतका मन्त्रीहरुसँग फलोअप गरिरहनुभएको छ । बजारमा एउटा मसला भाछ अर्थमन्त्री देखिएन भन्ने छ ।  यो सोझै सम्माननीयज्यूसँग यहाँहरूको प्रत्यक्ष ’नो फिल्टर’, ‘नो इन्टरमिडियसन’ सोझै होस् भन्ने व्यवसायी र प्रधानमन्त्रीज्यूको चाहना पनि छ । प्रधानमन्त्रीज्यू आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरूमा नदेखिने भएको हुनाले हामीले यो काम सल्लाहमा नै गरेका हौँ । व्यवसायी तथा उद्यमीले उठाएका प्रधान मुद्दाहरू जहिले पनि उनले सिधै हामीलाई फोन गरेर ‘यो यस्तो रहेछ नि, फलानो वस्तुको दर यस्तो रहेछ नि’ भनेर डिटेलमा बुझ्नुहुन्छ । हाम्रो कुरामा निरन्तर संवाद पनि भइरहेको हुन्छ । प्रत्येक क्याबिनेट पछि प्रधानमन्त्रीज्यूसँग म बस्छु । तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुठहरू फैलाइन्छ । यो सब कुराहरु पत्याउन छोडिसके जस्तो लाग्छ । यति क्लोज कोर्डिनेसनमा आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समय पछि हो । अर्थमन्त्री–प्रधानमन्त्रीको क्लोज कोर्डिनेसन डिस्कसनमा यो कुराहरू भइराखेका छन् । बजारका हल्लाहरूको पछाडि नलागिदिनुहोला ।’

प्रत्येक मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्रीसँग आफू बस्ने र आर्थिक मुद्दाहरूमा नजिकबाट छलफल हुने गरेको उल्लेख गर्दै उनले बजारमा फैलाइएका विभिन्न झुटा हल्ला तथा अफवाहहरूको पछि नलाग्न उद्यमीहरूलाई आग्रह गरे। सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तथा प्रतिफलको सुनिश्चितता दिन सधैँ प्रतिबद्ध रहेको पनि अर्थमन्त्री वाग्लेले दोहोर्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ