झापामा अर्बौको विकास कार्यक्रम ल्याएका सिटौलाबाट जनताले गरे आशा
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
717
Shares
झापा । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले शान्ति र संविधानको जिम्मेवारी लिएर दोश्रो संविधान सभा निर्वाचनमा विजय प्राप्त गरेपछिका चार बर्षमा क्षेत्र नं ३ मा १ अर्व बढीका विकास योजना ल्याएका छन् । विकासको कामबाट लाभान्वित भएका स्थानियले थप विकासको आशा गरेको सिटौलाले बताए।
शुक्रवार भद्रपुरमा पत्रकारहरुसित अन्तर्क्रिया गर्दै नेता सिटौलाले पहिलो संविधान सभाले संविधान जारी गर्न नसक्दा शान्ति प्रकृया पनि अलपत्र परेपछि दोस्रो संविधान सभा निर्वाचनमा जनतासित परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता गरेर गएको बताए ।
उनले २०६२/०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्नेहरु परिवर्तकामी झापाली जनताका प्रतिनिधि बन्न अयोग्य भएको बताए । उनले संघीयता र लोकतान्त्रिक गणतन्त्र अस्वीकार गरिरहेको राप्रपालाई एमाले र माओवादीले उम्मेद्वार बनाएकोमा आफू अचम्मित भएको बताउँदै दुवै पार्टीले २०४६ सालको जनआन्दोलनका पहिलो सहिद राम थापाको बलिदानलाई अवमूल्यन गरेको बताए ।
सिटौलाले आफू परिवर्तनको लडाँईमा अविचलित भएर निरन्तर लागेको स्पष्ट पार्दै शान्ति र सम्बृद्धिको सपना पूरा गर्न नेपाली कांग्रेसको विजय अपरिहार्य रहेको बताए ।
उनले अलपत्र हुलाकी सडक र मेची अञ्चल अस्पतालको स्तरीकरण आफ्नै कार्यकालमा भएको उल्लेख गरे । सिटौलाले खानेपानी, ग्रामीण सडक, सामुदायिक भवन, विद्यालय भवन जस्ता भौतिक संरचनाका काम तीव्र गतिमा भइरहेको बताए ।
नेता सिटौलाले प्रदेश नम्वर १ को सरकारी मेडिकल कलेजका रुपमा मेची अस्पताल विकसित हुने प्रकृयामा गइसकेको उल्लेख गर्दै मेची नदी नियन्त्रण र देउनिया खोला पूल निर्माण अगाडि बढिरहेको उल्लेख गरे ।
झापाको सदरमुकाम समेत रहेको झापा क्षेत्र नम्वर ३ नेपालको राजनीतिक परिवर्तनको उद्गम भएको उल्लेख गदैं सिटौलाले अग्रगमनका पक्षधर झापाली जनता राजनीतिक परिवर्तनलाई उल्ट्याउनेहरुको पक्षमा जान नसक्ने बताए । उनले सबै मतदातासंग नेपाली काँग्रेसलाई मतदान गर्न अनुरोध गरे ।
झापाको क्षेत्र नं ३ मा एमाले र माओवादीको गठवन्धनले उम्मेद्वार उठाएको छैन् ।
यसैगरी नेता सिटौलाले शुक्रबारै भद्रपुरमा संचारकर्मी, शिक्षक, उद्योपति, विभन्न धर्मका गुरुहरु, वौद्धिक वर्गसित छलफल गरेका थिए ।