arrow

प्रधानन्यायाधीश पराजुली मातहतका न्यायाधीशलाई निडर हुन सिकाउँदै 

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
chief-justice-parajuli.jpg

चितवन । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादन गर्दा रतिभर नडराई निर्भिक भएर गर्न न्यायाधीशहरूलाई निर्देशन दिएका छन् । 

जिल्ला अदालत चितवनले सोमबार यहाँ उहाँको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै प्रधानन्यायाधीश पराजुलीले यदाकदा न्यायाधीशले गाली र अपजश खप्न परे पनि न्याय सम्पादन गर्दा विचलित नहुन आग्रह गरे । 

आफू बहाल भएकै दिन ३९ बुँदे कार्ययोजना जारी गरेको बताउँदै उनले भने – “न्यायाधीशहरूको मनोबललाई तेजोबध गराउने हिसाबबाट जो जसरी जहाँबाट परिचालित भएपनि त्यसबाट कति पनि नडराउनुहोला ।” 

पुराना मुद्दाहरूलाई कार्ययोजनामा राख्दै चाँडोभन्दा चाँडो फैसला गर्न पनि उनले निर्देशन दिए । 

चितवन जिल्ला अदालत बार एशोसियशनले सोमबारै प्रधानन्यायाधीश पराजुलीको अभिनन्दन एवं वरिष्ठ अधिवक्ताहरूको सम्मान गर्यो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायाधीशका पनि न्यायाधीश कानुन व्यवसायी भएकाले स्वार्थका कारण मर्यादालाई नबिर्सन आग्रह गरे । 

उनले कानुन व्यवसायी समाजका अगुवा र परिवर्तनको द्योतक भएको भन्दै त्यसैअनुरुप काम गर्न पनि आग्रह गरे । उनले बार र बेन्चको सम्बन्ध सुमधुर हुनुपर्ने बताए र भने – “बार र बेन्च एकै रथका दुई पांग्रा र एकै सिक्काका दुई पाटा हुन् ।” 

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले अदालतको भौतिक संरचनाको विकासका लागि सहयोग गर्ने वचन दिए । 

मुख्य जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले जिल्ला अदालतले गरेका कामकारबाहीबारे जानकारी गराएका थिए । 

नेपाल बार एसोशियसनका अध्यक्ष शेरबहादुर केसीले बार र बेन्चबीचको सम्बन्ध सधैं सुमधुर हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्रजातान्त्रिक कानुन व्यवसायी संघका पूर्व अध्यक्ष गोपालकृष्ण पराजुली, वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीलगायतले बोलेका थिए । 

सो अवसरमा प्रधानन्यायाधीश पराजुलीलाई अभिनन्दन गर्नुका साथै चितवन जिल्ला घर भई चितवन र बाहिरी जिल्लामा काम गर्दै आएका वरिष्ठ अधिवक्ताहरू अध्यक्ष केसी, केन्द्रीय सदस्य इन्दु कोइराला र ज्ञानेन्द्र अधिकारीलाई सम्मान गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ