नयाँ शक्तिका सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखले पनि बाबुरामलाई छोडे
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
550
Shares
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारीणि सदस्य, सुरक्षा तथा अनुसन्धान विभाग प्रमुख गणेश राईले पार्टी परित्यागको घोषणा गरेका छन् ।
राईले मंगलबार विज्ञप्ति प्रकाशित गरेर पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । उनी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक समेत हुन् । राईले नयाँशक्ति पार्टीमा विधिको शासन हुनु पर्छ, नेताहरुपनि प्रणालीमा चल्नुपर्छ, अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न नसकिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘नेपाल प्रहरीजस्तो अनुशासित संगठनको सदस्यको हैसियतले आर्जन गरेको शीप र ज्ञानलाई नयाँ सोच तथा दृष्टिकोण भएको राजनीतिक दल मार्फत नयाँ भूमिकामा मुलुकको सेवा गर्ने मेरो लक्ष र परम्परागत राजनीतिक दलहरुले भन्दा नयाँ शक्ति पार्टीले अत्यन्त नयाँ सोच, नयाँ शैली, पारदर्शी, समानता तथा सहभागीतामूलक ढंंगबाट देशको राजनीतिलाई परिवर्तनको नयाँ युगमा डोर्याएर लैजान सक्छ भन्ने मेरो दृढ विश्वास थियो । तर अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ ।३० वर्षसम्म कठोर अनुशासन तथा पद्धतीमा बसेर काम गर्ने बानी परेको मलाई विधि पालना गर्न नपर्ने, नेताको मुखको बोलीका आधारमा चल्ने राजनीतिक संगठनमा कामगर्न सहज महसुस भएन ।’
यद्यपी उनले नयाँ शक्ति पार्टीबाट अलग भए पनि आगामी दिनमा प्रहरीमा आर्जन गरेको शीप र ज्ञानलाई सार्वजनिक जीवनमा क्रियाशील रहेर राष्ट्र निर्माणमा योगदान गर्ने प्रतिवद्धता गरेका छन् ।