arrow

चौधरीलाई शहिद घोषणा गर्न निर्वाचन परिचालन समितिको माग

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
Dead_Body.jpg.jpeg

ललितपुर। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मंगलबार दाङ भएको बम आक्रमणमा घाइते भएर उपचारको क्रममा मृत्युभएका सुरक्षाकर्मी विनोद चौधरीलाई शहिद घोषणा गर्न आग्रह गरेका छन् ।  बुधबार एक विज्ञप्ति जारी गर्दै उनले सो माग गरेका हुन् ।

 कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक खाँणले प्रकाशित विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनको बेला शान्ति सुरक्षाका लागि खटिनु भएका चौधरीको निधन राष्ट्रप्रति समर्पित भएको हुँदा उहाँलाई राज्यले तत्काल शहीद घोषणा गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति सरकारसँग माग गर्दछ । साथै, निर्वाचन सम्पन्न गराउन खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीको मनोवल उच्च बनाउनुका साथै आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिवद्ध रहँदै अन्य घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दछ । '

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल  सहित नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला मंगलबार भएको बम विष्फोटमा परी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरी सख्त घाइते भएका थिए । उनको बुधबार  उपचारका क्रममा निधन भएको थियो।

सो घटनाप्रति केन्द्रीय निर्वाचन परिचालन समिति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना सहित  शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोहर्‍याई रहनु अत्यन्त दुःखद विषय भएको बताइएको छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिले नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक र पार्टीप्रति अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित नहुने बताएको छ ।
 
केन्द्रीय निर्वाचन परिचालन समितिले नेपाली कांग्रेसका नेता, कार्यकर्ता एवं निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति  घोर निन्दा र भत्र्सना गरेको छ ।

सो घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको  र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको बताउदै परिचालन समितिले यस प्रकारका अवांछित क्रियाकलापले लोकतन्त्रप्रतिको नेपालीको मोह भंग गर्न नसक्ने र आफ्ना जनप्रतिनिधि चयन गर्नबाट कसैले रोक्न नसक्ने चेतावनी दिएको छ ।

कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक खाँणले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ