हजरत मोहम्मद जन्मजयन्तीः राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
288
Shares
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको १४३२औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत हजरत मोहम्मद विश्वभरिका मुसलमानको आस्थाको केन्द्र हुनुका साथै उनले सत्य, सामाजिक न्याय, भाइचारा, शान्ति र महिलाको सम्मानका लागि दिएका सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।
उनले विविध धर्म र संस्कृतिको संगमस्थलका रुपमा रहेको हाम्रो देश नेपालमा सबै धर्म, संस्कृति, समुदाय, वर्ग, क्षेत्र र लिंगको उचित सम्मान र संरक्षण गर्नका लागि नेपालको संविधानले पर्याप्त व्यवस्था गरेको छ भने ।
“मुस्लिम आयोगको संवैधानिक व्यवस्थाले मुस्लिम समुदायको हकअधिकारको संरक्षण, उत्थान र विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु,” प्रधानमन्त्री देउवाले भने ।
उनले हजरत मोहम्मद सबैको जीवनदर्शनको प्रेरणाको स्रोतका रुपमा रहिरहनुहुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा यस अवसरमा शुभकामना दिएका छन् ।
यता, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि हाम्रो देश नेपाल धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने हजरत मोहम्मदको जन्मजयन्ती जस्ता उत्सवहरुले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसंग आवद्ध नागरिकहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्याएको बताएकी छिन् ।
जातीय धार्मिक तथा सहिष्णुताको अनुपम उदाहरण रहेको नेपाली समाजमा मोहम्मदको जन्म दिनले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।